Thaha

Saturday 21 September - 8:14 pm NST

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्दै

काठमाडौं, २७ फागुन । पछिल्लो राजनीतिक परिस्थितिको समिक्षा र भावी रणनीति तय गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे तराइ मधेश लोकतान्त्रिक पार्टीको कार्यालय बिजुली बजारमा बस्ने मोर्चाले जनाएको छ । बैठकमा आन्दोलनका कार्यक्रमको समीक्षा, भावी कार्यक्रमको स्वरुप र सरकारलाई आफ्ना माग पूरा गर्न अल्टिमेटम दिने बिषयमा छलफल केन्द्रित हुने सद्भावना पार्टीका महासचिव मनिषकुमार सुमनले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रलाई पनि अन्तिम रुप दिनेछ । मोर्चाले ११ बुँदे मागको सम्बोधन, मधेश आन्दोलनमा मृत्यु भएकालाई सहीद घोषणा, घाइतेको उचित उपचार, भूकम्पपीडितलाई राहतलगायतका बिषयमा सरकारको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउने तयारी गरेको छ । मोर्चाले आगामी चैत ५ मा मधेसका जिल्लाहरुमा विरोध सभा गर्ने र एक घण्टासम्म मधेस आन्दोलनका नाराहरु लगाउनेलगायतका कार्यक्रम तय गरिसकेको जनाएको छ । मोर्चासँगको सहमति अनुसार सीमाकंनको विवाद सुल्झाउन सरकारले तीन साता अघि उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाको संयोजकत्वमा उच्चस्तरीय राजनीति समिति गठन गरेपनि अहिलेसम्म त्यसलाई पूर्णता दिएको छैन ।