Thaha

Saturday 21 September - 8:16 pm NST

बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणको तालिका सार्वजनिक


काठमाडौं, २६ फागुन । बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमण तालिका सार्वजनिक गरिएको छ । नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीको अवसरमा राजकुमार ह्यारीले आगामी चैत ६ देखि १० गतेसम्म नेपालको औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । राजकुमार ह्यारी उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले चैत ६ गते बेलुकी आयोजना गर्ने स्वागत समारोहमा सरिक हुनुहुनेछ । बेलायती राजदूतावासका अनुसार ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग चैत ७ गते राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राजकुमार ह्यारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नुहुनेछ । नेपाल बसाइका क्रममा राजकुमार ह्यारीले पाटन र भक्तपुरका ऐतिहासिक दरबार क्षेत्रको अवलोकनका साथै भूकम्पबाट प्रभावित ऐतिहासिक स्मारकहरुको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी लिनुहुनेछ । त्यसैगरी, उहाँले भूकम्पपीडितको अस्थायी पुनःस्थापना केन्द्र, सानोठिमी प्राविधिक शिक्षालय, कान्ति बालअस्पतालको पनि भ्रमण गर्ने कार्यक्रम छ । दूतावासका अनुसार राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्नुहुनेछ भने पोखरामा रहेको गोर्खा सैनिक क्याम्प पुगेर बेलायती राजमुकुटका निम्ति आफ्नो प्राण उत्सर्ग गरेका वीर गोर्खाप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ । उहाँले हिमालयको दृश्यावलोकन, जलयात्रा तथा पोखराबाट पदयात्रा, भूकम्पबाट पीडित गोर्खा सैनिकका परिवारसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।