Thaha

Saturday 21 September - 11:41 pm NST

आज अन्तराष्ट्रिय नारी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमण्डौं, २५ फागुन । 
१ सय छैठौं अन्तर्राष्ट्रिय नारी दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । अन्तर्राष्ट्रियस्तरमा लैंगिक समानताका लागि पाईला हाराहारी: सन् २०३० सम्म हिस्सा बराबरी नारा तय गरिएपनि नेपालमा भने संविधानलाई व्यवहारमा उतारौं ः महिला अधिकार सुनिश्चित गरौं नाराका साथ दिवस मनाईंदैछ । नेपालको नयाँ संविधान महिला मैत्री भएपनि कार्यान्वयनमा चुनौती भएको भन्दै सरोकारवालाले संविधान कार्यान्वयनका लागि बन्ने कानून पनि महिला मैत्री बन्नुपर्नेमा जोड दिएका छन् । दिवसका अवसरमा शुभकामना सन्देश दिंदै राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको अधिकार, समानता, सशक्तीकरण तथा मानवअधिकार सुनिश्चित गर्ने दिशामा एकीकृत पहल गर्ने प्रेरणा प्राप्त होस् भन्ने कामना गर्नुभएको छ ।

नेपालको संविधानले धेरै हदसम्म महिलाको हकहित र सरोकारलाई समेट्ने प्रयास गरेको गरेको भन्दै राष्ट्रपति भण्डारीले संवैधानिक प्रावधान अनुकूल कानुन, नीति र संरचना तयार गरी कार्यान्वयन गरेर मात्र महिला विकासको अवधारणालाई सुनिश्चित गर्न सकिने बताउनुभएको छ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अख्तियार गरेको शून्य सहनशीलताको नीति तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबैलाई एक भएर लाग्न आह्वान गर्नुभएको छ । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद्बाट बनाउनुपर्ने कानुन अधिकतम समतामूलक समाज निर्माणको पक्षमा गराउन र अधिकार प्राप्तिको अभियानमा महिलाहरू अझै चनाखो भई अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।  दिवसका अवसरमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको अगुवाईमा अहिले प्रभातफेरी गरिंदैछ । त्यसपछि राष्ट्रपतिको आतिथ्यमा प्रज्ञा भवनमा मूल समारोह गर्ने तयारी भएको मन्त्रालयका प्रवक्ता नारायणप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

 

समान कामको समान ज्याला र कामको समय ८ घण्टा हुनुपर्ने माग राखेर अमेरिकाको न्युयोर्क सहरमा उठेको श्रमिक महिलाको आन्दोलनले संस्थागत स्वरूप ग्रहण गरेको १०६ वर्ष पूरा भएको छ । सन् १९०८ मार्च ८ मा न्यूयोर्क शहरको गार्मेन्ट कारखानामा काम गर्ने महिला कारखानाका मालिक विरूद्ध सडकमा उत्रेका थिए । सन् १९१० मा कोपेनहेगनमा सम्पन्न अन्तराष्ट्रियस्तरको श्रमिक महिलाको सम्मेलनले महिलाले आन्दोलन शुरु गरेको दिनलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरेयता हरेक वर्ष ८ मार्चमा यो दिवस मनाउने गरिएको छ ।