Thaha

Saturday 21 September - 11:47 pm NST

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु


काठमण्डौं, २३ फागुन । 
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । भृकुटीमण्डलमा शुरु मतदान दिउँसो चारबजेसम्म चल्ने निर्वाचन समितिले जनाएको छ । चारबजेसम्म लाईनमा बसेकाले नसकिएसम्म मतदान गर्न पाउनेछन । मतदान सकिएलगत्तै सभापति पदको मतगणना शुरु हुने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । पहिलो चरणमै कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याएमा सभापतिको नतिजा घोषणा गरी अन्य पदको मतगणना सुरु हुनेछ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी नल्याएमा बढी मत ल्याउने दुई जनाबीचमा मात्रै प्रतिस्पर्धा गराउनुपर्ने भएकाले लगत्तै निर्वाचन गरेर फेरि मतगणना सकिएपछि मात्रै अन्य पदको मतगणना गरिने घिमिरेले बताउनु भयो । ६४ पदका लागि ३ सय १२ जना प्रतिस्पर्धामा छन । 


यसैबीच रातभर मतदाता आफ्नो पक्षमा पार्न लागि परेका तीनवटै समूहले आज पनि बिहानैदेखि चुनावी प्रचार तिब्र पारेका छन  । १३ औं महाधिवेशनमा सभापति पदका लागि कार्यबहाक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलाबीच प्रतिस्पर्धा हुँदैछ । महामन्त्री र कोषाध्यक्ष पदका लागि पौडेल नेतृत्वको प्यानलबाट शशांक कोइराला र सितादेवी यादव, देउवा नेतृत्वको प्यानलबाट अर्जुनरसिंह केसी र चित्रलेखा यादव तथा सिटौलाको समूहबाट गगन थापा र उमाकान्त चौधरी मैदानमा उत्रिनुभएको छ । कोषाध्यक्ष पदमा यी कुनै समूहमा नबसी कृष्ण कार्कीले पनि उम्मेदवारी दिनुभएको छ ।

 

खुला २५ जना केन्द्रीय सदस्यको निर्वाचनमा ९० जना उम्मेदवार छन् । महिला आरक्षणतर्फको ६ सिटमा ३८ जना, प्रदेशतर्फ २ पदका लागि एक नम्बर प्रदेशमा १३ जना, २ मा ५ जना, प्रदेश नम्बर ३ मा १८, प्रदेश ४ मा ९, प्रदेश ५ मा १०, प्रदेश ६ मा ५ र सात नम्बर प्रदेशमा ७ जना उम्मेदवार रहेका छन् । जनजाति पुरुष ३ पदका लागि ४० जना, महिला २ सिटका लागि १२ जना, दलित पुरुष ३ पदका लागि २० जना, महिला २ पदका लागि ५ जनाको उम्मेदवारी कायम रहेको छ । मधेसी आरक्षण तर्फको पुरुष ३ पदका लागि १५ जना, मधेसी महिला २ सिटका लागि ९ जना र मुस्लिम १ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा छ ।