Thaha

Saturday 21 September - 11:33 pm NST

कांग्रेसको नयाँ कार्यसमितिका लागि ३ सय ७५ जनाको उम्मेद्वारी

भृकुटीमण्डपमा चलिरहेको बन्दसत्र

 काठमाडौं, २१ फागुन । नेपाली काँग्रेसको ६४ सदस्यीय नयाँ कार्यसमितिका लागि ३ सय ७५ जनाको उम्मेद्धारी परेको छ । 
सभापतिका लागि रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाकोे उम्मेदवारी परेको छ । यस्तैगरी, महामन्त्रीमा ३, कोषाध्यक्ष पदका लागि मधेसी समुदायका ३ सहित ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । पौडेलको प्यानलबाट महामन्त्रीमा शशांक कोईराला र कोषाध्यक्षमा सीतादेवी यादव, देउवा प्यानलबाट महामन्त्रीमा अर्जुननरसींह केसी र कोषाध्यक्ष चित्रलेखा यादव, तथा सिटौला प्यानलबाट महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । 
केन्द्रीय सदस्य खुल्लातर्फ ९४, प्रदेशबाट १ सय २ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो । केन्द्रीय सदस्य महिलातर्फ ४०, दलित आरक्षणतर्फ २१, महिला आरक्षणमा ६, आदिवासी जनजाति आरक्षणतर्फ ५० र महिलातर्फ १४ जनाले उम्मेद्धारी दिएको घिमिरेले बताउनुभयो । यस्तैगरी केन्द्रीय सदस्य मधेसीतर्फ १८, मधेसी महिलामा १० जना र केन्द्रीय सदस्य मुस्लिमतर्फ १० जनाको उम्मेद्धारी परेको छ । राष्ट्रिय सभागृहमा पर्सी २३ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । 
१३आंै महाधिवेशन अन्र्तगत शुक्रबारदेखि बन्दशत्र सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको बन्दसत्रमा कार्यवहाक सभापति रामचन्द्र पौडेलले पार्टीको नीति तथा कार्यक्रम, महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीको सांगठनिक प्रस्ताव, कोषाध्यक्ष चित्रलेखा यादवले पार्टीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने नेपाली काँग्रेसले जनाएको छ । शुक्रबार प्रस्तुत भएका प्रतिवेदनमा शनिबार छलफल गरेर पारित गराउने र पर्सी मतदानको तयारीमा जुट्ने काँग्रेसको तयारी छ ।