Thaha

Saturday 21 September - 11:38 pm NST

कांग्रेसको १३ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुदै, आजैदेखि मनोनयन दर्ता शुरु


काठमण्डौं, २० फागुन
नेपाली कांग्रेसको १३ औं महाधिवेशन आजदेखि काठमाडौंमा शुरु हुँदैछ । शुसीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र निर्माण अब हाम्रो अभियान भन्ने नाराका साथ सुरु हुने महाधिवेशनको दिउँसो १ बजे खुलामञ्चमा कार्यवहाका सभापति रामचन्द्र पौडेलले उद्घाटन हुनेछ । उद्घाटन सत्र अगाडी काठमाडौंका विभिन्न ठाउँबाट विशेष सांस्कृतिक झाकी सहितको प्रदर्शन हुने काँग्रेसले जनाएको छ ।

 

महाधिवेशनको उद्घाटनसत्रमा देशका प्रमुख राजनीतिक दलका नेता र विदेशबाट आएका पाहुनाले समेत भाग लिनेछन । महाधिवेशनका लागि देश विदेशमा रहेका नेपाली काँग्रेसका हजारौं नेता कार्यकर्ता काठमाडौं आएका छन । महाधविेशन अन्तरगत भोलीदेखि बन्त्रसत्र शुरु हुने र विभिन्न प्रतिवेदनहरु पेश गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेसले जनाएको छ । बन्त्रसत्रमा तीन हजार १ सय ८८ महाधिवेशन प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशन अन्तरगत काठमाडौं प्रवेश गर्ने स्थान तथा चोकचोकमा महाधिवेशनसम्बन्धी तुल, ब्यानर, होर्डिङबोर्ड, पोस्टर र नगरमा पार्टीको चारतारे झन्डा फहराइएको छ । महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिका लागि गौशाला, सुन्धारा र ठमेलका गरी १ सय २७ होटलका १ हजार २ सय ४१ वटा कोठा बुक गरिएको आवास तथा भोजन समितीले जनाएको छ । खाना र नास्ताको व्यवस्था भृकुटीमण्डपमै हुनेछ । 


नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि आजदेखि उम्मेदवारी मनोनयन दर्ता शुरु भएको छ । मनोनयन दर्ताका लागि हिजोदेखिनै उम्मेदवारी फारम वितरण सुरु भएको थियो । पार्टी केन्द्रीय कार्यालय सानेपामा रहेको केन्द्रीय निर्वाचन समितिको कार्यालयबाट फारम वितरण भैरहेको छ । बिहान ८ बजे शुरु भएको उम्मेदवारी मनोनयन दर्ता बेलुकी पाँच बजेसम्म र भोली बिहानदेखि फेरि दिउँसो १२ बजेसम्म हुने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।  भोलीनै उम्मेदवारको प्रारम्भीक नामावली प्रकाशित गरिने र प्रकाशित नामावली माथि संशोधनको समय भोली १२ बजेदेखि दिउँसो दुई बजेसम्म तोकिएको छ । दाबी विरोधका लागि २ बजेदेखि ५ बजेसम्म समय र निर्वाचन समितिमा परेको दाबी विरोधअनुसार निर्वाचन समितिले गर्नुपर्ने जाँचबुझ भने भोली बेलुकी ७ बजेसम्म गरिने घिमिरेले जानकारी दिनुभयो ।  उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले पर्सि बिहान ९ बजेदेखि ११ बिहानबजेसम्मको समय तोकेको छ । उम्मेदवारी फिर्ता लिने समय सकिनासाथ बिहान ११ बजे नै निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने तयारी गरेको छ । राष्ट्रिय सभागृहमा २३ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।

 

मतदान सकिएपछि सभापतिको मतगणना हुने घिमिरेले बताउनु भयो । पहिलो चरणमै कुनै उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याएमा सभापतिको नतिजा घोषणा गरी अन्य पदको मतगणना सुरु हुनेछ । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी नल्याएमा बढी मत ल्याउने दुई जनाबीचमा मात्रै प्रतिस्पर्धा गराउनुपर्ने भएकाले लगत्तै निर्वाचन गरेर फेरि मतगणना सकिएपछि मात्रै अन्य पदको मतगणना गरिने घिमिरेले बताउनु भयो । महाधिवेशनले ८५ सदस्यिय केन्द्रीय समितीमा एकजना सभापति, महामन्त्री र कोषाध्यक्ष निर्वाचित गर्नेछ ।