Thaha

Saturday 21 September - 10:45 pm NST

हङकङ फ्लुको संक्रमण बढ्दो, सचेतना अपनाउन चिकित्सको आग्रह


काठमण्डौं, १८ फागुन । 
सिजनल फ्लू भन्दा कडा प्रकृतिको फ्लूको संक्रमण बढ्दै गईरहेको भन्दै चिकित्सकहरुले सचेतना अपनाउन आग्रह गरेका छन् । हङ्गकङ्ग फ्लू भनिने एन्फ्लूएन्जा प्रजातिको भाईरस H3N2 को संक्रमण एक डेढमहिनादेखि बढ्दो क्रममा देखिएकाले व्यक्तिगत स्वास्थ्यमा ध्यान दिन उनीहरुको आग्रह छ । खासगरी जाडो या गर्मी शुरु हुने बेलामा देखिने सिजनल फ्लू यो वर्ष जाडो याममै देखिएको र एउटै व्यक्तिमा पनि दोहोरिएर संक्रमण भएको पाईएको छ ।

सिजनल फ्लू वा स्वाईन फ्लूको संक्रमण सामान्यतः बुढाबुढी र बालबालिकामा देखिने भएपनि हङ्गकङ्ग फ्लूको असर स्वस्थ किशोरकिशोरी र युवायुवतीमै समेत देखिएको शुक्रराज ट्रपिकल अस्पतालका डाक्टर शेरबहादुर पुनले जानकारी दिनुभयो । एउटै व्यक्तिमा दोहो¥याएर फ्लूको लक्षण देखिने तथा सिजनल फ्लूको औषधीले काम नगरेर अस्पतालमा भर्ना हुनै पर्ने अवस्थाले पनि फ्लूको गम्भीरतालाई दर्शाउने उहाँले बताउनुभयो ।

रुघाखोकी सर्न नदिन विशेष सतर्कता अपनाउने तथा उच्च ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न समस्या हुने, टाउको, जिउ र जोर्नी दुख्ने जस्ता लक्षण देखिने वित्तिकै अस्पताल गईहाल्न डाक्टर पुनको सुझाव छ । यस्तै गर्मी वा जाडो याम शुरु हुनु भन्दा अगाडी नै सिजनल फ्लू वा स्वाईन फ्लू विरुद्धको खोप लगाए संक्रमणबाट जोगिन सकिने उहाँको भनाई छ ।