Thaha

Sunday 22 September - 1:32 am NST

विचार नमिलेसम्म एकता हुन सक्दैन : वैद्य

काठमाण्डौं, फागुन १४ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले विचार नमिलेसम्म एकता हुन नसक्ने बताउनुभएको छ । पार्टीको उपत्यका समितिले आज ललितपुरमा गरेको ‘प्रशिक्षक प्रशिक्षण कार्यक्रममा’ अध्यक्ष वैद्यले एकीकृत माओवादीसँग पार्टी एकताबारे काम भन्दा हल्ला धेरै भएको बताउनुभयो ।

एकताका लागि पहिले विचार मिल्नुपर्नेमा वैद्यले जोड दिनुभयो ।  एकताका लागि अहिले एकीकृत माओवादीसँग विचार नमिलेको प्रष्ट पार्दै वैद्यले पार्टी एकता जनवादी क्रान्ति सम्पन्न गर्नका लागि हुनुपर्ने बताउनुभयो । एकीकृत माओवादीले समाजवादी क्रान्ति भनिरहेका क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले एकता जनवादी क्रान्तिका लागि भन्नुभएको छ ।

कार्यक्रममा अर्का नेता परी थापाले कम्युनिष्ट कार्यकर्ताले कम्युनिष्ट सिद्धान्त, विचार र आचरणलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो । माओवादीले फागुन १४ देखि २१ गतेसम्मलाई विविध कार्यक्रम गरी सहिद सप्ताहको रुपमा मनाउने परम्पराअनुरुप आजदेखि प्रशिक्षण कार्यक्रम सुरु गरेको जनाएको छ ।