Thaha

Friday 26 April - 10:28 am NST

रक्सौल डिपोबाट ईन्धन लोडिङ्ग

काठमाण्डौं, फागुन १४ । भारतबाट इन्धन आयातको प्रमुख डिपो रक्सौल डिपोले आज देखि तेल दिइरहेको छ । तेल सकिएको भन्दै हिजो लोडिङ रोकेको डिपोले आज विहानैदेखि लोड दिइरहेको नेपाल आयल निगमले जनाएको छ ।

नेपालमा खपत हुने तेलको झण्डै ७० प्रतिशत यो डिपोबाट आउने गरेको छ । ग्यासको आयात भने बरौनी प्लान्टले तीन दिन देखि रोकेको छ । प्लान्ट मर्मतका लागि भन्दै तीन दिन देखि बरौनीबाट ग्यास लोड नदिइएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । नेपालमा खपत हुने दैनिक झण्डै ६० बुलेट ग्यास मध्ये अहिले दैनिक ४० बुलेटको हारहारीमा आयत भइरहेको थियो । बरौनी डिपोले नदिएपछि त्यो पनि घटेर १० १२ बुलेटमा सिमित भएको छ । बरौनीबाट दैनिक २५ देखि ३० बुलेट ग्यास आयात हुने गरेको थियो । हल्दिया र मथुराबाट मात्रै अहिले ग्याँस आइरहेको निगमका प्रवक्ता घिमिरेले बताउनुभयो ।

भारतले बिना कारण मागेजति इन्धन नदिएपछि निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का र गुणस्तर तथा नापतौल विभागका निर्देशक करुणा क्षेत्री बुधबार भारत जानुभएको छ । उहाँहरुले भारतीय आयल निगमका अध्यक्षसँग भेटेर आपूर्ती कटौती गर्नुको औपचारिक कारण माग गर्ने निगमका अधिकारीले बताएका छन् । माग अनुसार आयात नभएपछि विशेषगरी काठमाडांै उपत्यकामा इन्धनको वितरण सहज हुन अझै केही समय लाग्ने निगमले जनाएको छ ।