Thaha

Friday 19 April - 4:09 am NST

डलर महंगिने क्रम रोकिएन

काठमाण्डौं, फागनु १४ । अमेरिकी डलर महंगिने क्रम अझै जारी छ । नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री दर १ सय १० रुपैयाँ २८ पैसा निर्धारण गरेको छ । यो अहिलेसम्मकै उच्च हो ।  

अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारतीय रुपैयाँका आधारमा निर्धारण हुने गर्छ । १४ बर्षअघि सरकारले एक सय भारतीय रुपैयाँ बराबर एक सय ६० नेपाली रुपैयाँ हुने निर्धारण गरेपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्ने गरेको हो । भारतमा १ अमेरिकी डलरको भाउ ६७ दशमलब ९४ पैसा भारतीय रुपैयाँ कायम गरिएको छ ।  

डलरको मूल्य बढ्दा रेमिट्यान्स आयमा वृद्धि भएपनि सरकारले तिनुपर्ने ऋणमा भने नकारात्मक असर पर्छ । आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार पनि प्रभावित हुने गर्दछ । विदेशबाट डलर तिरेर कच्चा पदार्थ ल्याइ उत्पादन गर्ने उद्योगको लागतमा बढ्ने हुँदा उत्पादन लागत बढ्न गई यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्य पनि वृद्धि हुने गर्दछ ।