Thaha

Sunday 22 September - 1:20 am NST

तारा एयरको विमान दुर्घटनाका मृतक मध्ये चालकदलका ३ सदस्यसहीत १४ जनाको शव पहिचान,

काठमाण्डौं, फागुन १३ । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएका मृतकमध्ये चालकदलका ३ सदस्यसहीत १४ जनाको पहिचान भएको छ ।

मृतकमध्ये मुस्ताङका कृष्णलाल भट्ठचन, विनीता भट्ठचन र उनकी दुई महिनाकीे छोरीको शव मुस्ताङ पठाईएको म्याग्दीका प्रहरी नायब उपरिक्षक डिएसपी विश्वराज खड्काले जानकारी दिनुभयो । घटनास्थल म्याग्दीको दाना गाविस—२ सोलीघोप्टे भीरबाट संकलन गरी दाना गाविस—४ मा जम्मा गरेर ३ जनाको शव मुस्ताङ र २० जनाको शव पोखरा पठाईएको थियो ।

पोखरा लगिएका २० जनाको शवमध्ये बाग्लुङका बालकृण्ण निउरे, पोखराकै मुक्तिनाथ वास्तोलाको शव आफन्तलाई बुझाईएको र डोल्माछिरिङ शेर्पाको शव काठमाण्डौं पठाईएको कास्कीका प्रहरी नायब उपरिक्षक डिएसपी गजुसिद्धी बज्राचार्यले थाहासंचार नेटवर्कलाई जानकारी दिनुभयो । उहाँका अनुसार विमानका पाईलट रोशन मानन्धर, कोपाईलट विकेश मेमकुल, परिचारीका रमा रावतको शव टिचीङ अस्पताल काठमाण्डौं ल्याईएको छ ।

पहिचान भएकामध्ये ५ जनाको शव आफ्न्तलाई बुझाउन बाँकी रहेको प्रहरीले जनाएको छ । डिएसपी बज्राचार्यका अनुसार कुवेतका नागरीक रालरसिद अहम्मद, पोखराका रेवती वराल, ठेगाना नखुलेका मोतिबहादुर केसी, राजकुमार तामाङ र एक बालकको शव आफन्तले बुझ्न बाँकी  छ ।

मृतकमध्ये सनाखत हुन बाँकी रहेका ९ जनाको शव गण्डकी क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । हिजो विहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको 9N A HH ज्ज् जहाज दुर्घटना हुँदा जहाजमा सवार सबै २३ जनाको मृत्यु भएको थियो ।