Thaha

Sunday 22 September - 1:22 am NST

स्थानीय निकाय पुनर्संरचना आयोग गठनका लागि अझै महिना दिन लाग्ने


काठमाडौं, १३ फागुन । स्थानीय निकाय पुनर्संरचना आयोग गठनका लागि अझै महिना दिन लाग्ने भएको छ । सरकारले फागुन पहिलो हप्ताभित्रै आयोग बनाइसक्ने घोषण गरे पनि कार्यविधि (टीओआर) बनाउने कामका कारण आयोग बन्न ढिलाई भएको हो । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले कार्यविधि, मापदण्ड तयार भइरहेकोले अबको एक महिनाभित्र आयोग गठन गरिसक्ने दाबी गर्नुभयो । आयोगमा  विज्ञहरुको टोली रहनेछ । यसअघि उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले फागुन पहिलो हप्तामै आयोग घोषणा गरिने बताउनुभएको थियो । नयाँ संविधानको धारा २ सय ९५ को (३) को व्यवस्था अनुसार गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या र सीमाना निर्धारण गर्नका लागि सरकारले आयोग गठन गर्न लागेको हो । अब बन्ने आयोगले गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तोक्नेछ । यो आयोग संविधान जारी भएको ६ महिनाभित्र बनाइसक्नुपर्ने संवैधानिक प्रावधान छ । यो आयोगको कार्यअवधि भने एक वर्षको रहनेछ । अहिले भएका गाउँ विकास समिति र नगरपालिका सञ्चालन गर्दा खर्चले धान्न नसकिने र संघीय ढाँचामा बदल्नु पर्ने भएकाले आयोग गठनको आवश्यक परेको प्रवक्ता भट्टराईको भनाई छ । अहिले देशभर तीन हजार ३१ सय ५७ गाविस र २ सय १७ वटा नगरपालिका छन् । नयाँ संविधान जारी भएपछि नेपाल सात प्रदेशमा जाने निश्चित छ ।