Thaha

Sunday 22 September - 1:43 am NST

अमेरिकी डलरको भाउ अहिलेसम्मकै महंगो


काठमाडौं, ११ फागुन । अमेरिकी डलरको भाउ अहिलेसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले आजका लागि डलरको बिक्री दर १ सय १० रुपैयाँ ४ पैसा निर्धारण गरेको छ । अमेरिकी अर्थतन्त्र सवल हुँदै गएको तथा चिनियाँ अर्थतन्त्र पछिल्लो समय कमजोर भएको तथ्यांकहरु सार्वजनिक भइरहेका बेला डलरले नयाँ उचाइ छोएको हो । अमेरिकी डलरसँग नेपाली रुपैयाँको विनिमय दर भारतीय रुपैयाँका आधारमा निर्धारण हुने गर्छ । १४ बर्षअघि सरकारले एक सय भारतीय रुपैयाँ बराबर एक सय ६० नेपाली रुपैयाँ हुने निर्धारण गरेपछि त्यही अनुसार भारु कमजोर हुँदा नेपालमा पनि डलरको मूल्य बढ्ने गरेको छ । भारतमा १ अमेरिकी डलरको भाउ ६७ दशमलब ९४ पैसा अमेरिकी डलर कायम गरिएको छ ।  डलरको मूल्य बढ्दा रेमिट्यान्स आयमा वृद्धि भएपनि सरकारले तिनुपर्ने ऋणमा भने नकारात्मक असर पर्छ । आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्य वृद्धिले नेपाली बजार पनि प्रभावित हुने गर्दछ । विदेशबाट डलर तिरेर कच्चा पदार्थ ल्याइ उत्पादन गर्ने उद्योगको लागतमा बढ्ने हुँदा उत्पादन लागत बढ्न गई यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिने अर्थविद्हरुले बताएका छन् ।