Thaha

Sunday 22 September - 3:23 am NST

प्रधानमन्त्री ओलीद्धारा भारतीय समकक्षि मोदीसँग भेटवार्ता

काठमाण्डौं, फागुन ८ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता भएको छ । नयाँ दिल्लीको हैदराबाद हाउसमा भएको भेटवार्तामा दुबै प्रधानमन्त्रीले पछिल्लो समयमा दुई देशबीचको सम्बन्धमा देखिएको चिसोपनाको कारणहरु बारे खुलेरै छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री ओली र मोदीबीच नेपालमा जारी भएको संविधान, त्यसपछि सम्बन्धमा देखिएको चिसोपन, सीमा विवाद, मधेस आन्दोलन, सीमांकनको लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्र, भावी सम्बन्ध, पञ्चेश्वर आयोजनाको कार्यान्वयन, नेपालमा लगानी अभिबृद्धि, ब्यापारिक समस्यासहित सम्पूर्ण विषयमा कुराकानी भएको थियो ।

प्रधानमन्त्री ओलीले नेपालमा संविधान जारी भएपछि भारतले स्वागत नगर्दा आएको समस्या र त्यसले नेपालीको जनजीवनमा पारेको प्रभावको विषयमा कुराकानी राख्नुभएको थियो । आफू नेपाल–भारत सम्बन्धलाई समधुर बनाएर अघि बढ्ने पक्षमा रहेको ओलीले बताउनुभएको थियो ।

उहाँले मधेसको चाहनाअनुसार संविधान संशोधन भइसकेको र सीमांकनको लागि पनि राजनीतिक संयन्त्र गठन भईसकेकोले अब त्यसमा मधेसी दलहरुको पनि सहभागिता गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

मोदीले नेपालको संविधानमा आफूहरुको असहमति नभएको स्पष्ट पार्दै केबल सबैको अपनत्व मात्रै होस् भन्ने चाहना ब्यक्त गर्नुभएको थियो ।