Thaha

Sunday 22 September - 3:16 am NST

आज ६६ औं प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै


काठमण्डौं, ७ फागुन ।
आज ६६ औं प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं २००७ फागुन ७ गते १ सय ४ वर्षे जहानियाँ राणाशासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा अहिले काठमाडौंको टुँडिखेलमा विषेश समारोह आयोजना गरिएको छ । समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, सभामुख ओनसरी  घर्ति, प्रधानन्यायधिस कल्याण श्रेष्ठ, राजनैतिक दलका शिर्ष नेता र विशिष्ट ब्यक्तिको उपस्थिती  छ । विक्रम संवत २००७ साल फागुन ७ गते राणा शासनको अन्त्य भएको र नेपालमा प्रजातन्त्र स्थापना भएको घोषणा तत्कालिन राजा त्रिभुवनले गर्नुभएको थियो । प्रजातन्त्र स्थापनाका लागि शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा प्राणको आहुति दिनु भएको थियो । 
यसैबीच प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र राजनैतिक दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिदै जनताको चाहना एवम् त्यागका कारण देशले प्राप्त गरेको संविधानको कुशल कार्यान्वयन  नै प्रजातन्त्र दिवस तथा सहिदको उच्च कदर हुने उल्ल्ेख गर्नु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रुपमा अङ्कित रहेको उल्ल्ेख गर्दै संविधानसभाबाट प्राप्त उपलब्धिको जगेर्ना गर्दै सुदृढ राष्ट्रिय एकताका जगमा मुलुकलाई शान्ति, स्थायित्व, समुन्नत तर्फ अघि बढाउनुपर्नेमा जोड दिनु भएको छ ।  यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताउँदै नेपाली जनताले गरेको बलिदानको परिणामस्वरुप प्राप्त उपलब्धिका कारण अहिले मुलुक समावेशी लोकतन्त्र र सङ्घीयतासहितको गणतान्त्रिक संरचनामा प्रवेश गरेको उल्लेख गर्नुभएको छ ।