Thaha

Sunday 22 September - 3:23 am NST

प्रधानमन्त्री केपी शर्मा ओली आज ६ दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली जाँदै


काठमण्डौं, ७ फागुन । 
प्रधानमन्त्री केपी शर्मा ओली आज ६ दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली ४६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै दिउँसो ३ बजे नयाँ दिल्ली प्रस्थान गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नयाँ दिल्ली पुगे लगत्तै प्रधानमन्त्री ओली आज भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले ६६ आँै राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्ने कार्यक्रममा सरिक हुने तय भएको छ ।

भ्रमण कार्यक्रम अनुसार प्रधानमन्त्री ओली भोली राष्ट्रपति भवनमा हुने विशेष स्वागत समारोहमा सरिक हुनुहुनेछ । त्यसपछि उहाँले राजघाटमा रहेको महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जलि अर्पण गर्नुहुनेछ । भोली नै प्रधानमन्त्री ओलीले हैदराबाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग आपसी हितका विषयमा औपचारिक भेटवार्ता गर्नु हुनेछ । नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग पनि भेटवार्ता गर्नुहुनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले उत्तराखण्डको तेहरी जलस्रोत परियोजनाको निरीक्षण गर्नाका साथै गुजरात पुगेर त्यहाँ भूकम्पपछि थालिएको पुनःनिर्माणका कार्यबारे जानकारी लिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।  भ्रमणका क्रममा प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति प्रवण मुखर्जीको आतिथ्यतामा राष्ट्रपति निवास सप्रु भवनमा रहनु हुनेछ ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार बिष्णु रिमालले भ्रमणका क्रममा दुई देशबीचको सम्बन्ध सुदृढ गर्दै द्विपक्षीय विकासबारे छलफल हुने बताउनुभयो । उहाँले विगतमा सहमति भएका परियोजना र पूरा हुन बाँकी कार्यबारे पनि छलफल हुने जानकारी दिनुभयो । भारतले नेपालको भूकम्पपछिको पुनःनिर्माणका लागि दिने घोषणा भएको एक अर्ब अनुदानबारेमा पनि कुराकानी हुनेछ । प्रधानमन्त्री ओलीसँगै उहाँकी धर्मपत्नी राधिकाका साथै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्तिबहादुर बस्नेता र अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत भ्रमणमा सहभागि हुनुहुनेछ ।