Thaha

Sunday 22 September - 3:18 am NST

विभिन्न जिल्लामा भएका दुर्घटनामा ७ जनाको मृत्यु


 काठमाडौं, ६ फागुन । देशका विभिन्न ठाउँमा भएका गाडी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । रुपन्देहीको बुटवलमा गएराति रोकिराखेको बसमा जिप ठोक्किएर भएको दुर्घटनामा एक बालिकासहित ३ जनाको मृत्यु भएको छ । ३२ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल–१५  ढवाहमा लु १ ख ४१९५ नम्बरको रोकिराखेको बसमा बा १३ च ३०६३ नम्बरको जीपले पछाडिबाट ठक्कर दिँदा दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएकोे प्रहरीले जनाएको छ । मृत्यु हुनेमा दाङको लालमटिया–८ की ५ वर्षकी बालिका पवित्रा घर्ति, नवलपरासी रतनपुरकी २२ वर्षीया दुर्गा थारु र २३ वर्षीय दिनेश सिंजाली मगरको मृत्यु भएको हो । घाइते १० जनाको अहिले लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको र अरु घाईते सामान्य उपचार पछि घर फर्किएको जिल्ला प्रहरीले कार्यालय रुपन्देहीले जनाएको छ । दुर्घटनामा परेको बस र जीप दुवैमा बिवाहका जन्ती सवार थिए ।   
     त्यस्तै सिन्धुपाल्चोकको बराम्चीमा गएराति यात्रु बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । मृत्यु हुनेमा गुम्बा गाविस–६ की ४७ वर्षीया माइली तामाङ र  ५५ वर्षीय दावा स्याङ्बो रहेका छन । घाइतेमध्ये ७ जनाको काभ्रेको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी र २ जना सामान्य घाईते उपचारपछि  घर फर्किएका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी जवान आनन्द गुरुङले जानकारी दिनुभयो ।  काठमाडौँबाट पाङ्तान गाविसको कात्तिके जाँदै गरेको बा २ ख २७०२ नम्बरको बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो ।  त्यस्तै काठमाडौं उपत्यकामा पनि  छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज विहान साढे ५ बजे गौशालाको वनकाली मोडमा पानी ट्याङ्करको ठक्करबाट अन्दाजी ६० बर्षीय पुरुषको मृत्यु भएको छ । भने ललितपुरको गोदावरीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा स्थानीय २२ बर्षीय करण सुब्बाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार गम्भीर घाइते सुनसरी घर भइ ललितपुर बस्दै आएका २० बर्षीय सुमन भूजेलको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ ।