Thaha

Monday 17 November - 1:40 pm NST

अदुवा बिक्रि नभएपछि किसान चिन्तित

दिपक शर्मा 
फागुन ५, सल्यान । जिल्लाको प्रमुख नगदेबालीको रुपमा रहेको अदुवा यो वर्ष निकासी नहुँदा किसान मारमा परेका छन् । जिल्ला कृषि विकास कार्यालयका अनुसार हालसम्म जिल्लाबाट २ प्रतिशत मात्रै अदुवा निकासी भएको छ ।

अदुवा खन्ने समयमा भारतको अघोषित नाकाबन्दी तथा इन्धन अभावको कारण देखाउदै व्यापारी नै गाउँसम्म नपुगेपछि दुई हजार मेट्रिककटन भन्दा बढिअदुवा जिल्लामै थन्किएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत टेकप्रसाद लुईटेलले जानकारी दिनुभयो । “अदुवा खन्ने समयमा देशमा नाकाबन्दी भयो, नाकाबन्दी हुँदा अदुवाले राम्रो मुल्य पाउन सकेन—उहाँले भन्नुभयो —जिल्लाको मुख्य नगदेबालीको रुपमा रहेको अदुवा बिक्रि नभएपछि यो वर्ष किसान मारमा परेका छन् ।”

जिल्लाका विभिन्न स्थानहरुमा यो वर्ष २४ हजार ३ सय १० मेट्रिकटन अदुवा उत्पादन भएको छ । उत्पादन भएको अदुवा मध्येको हालसम्म ४ सय मेट्रिकटन अदुवा जिल्ला निकासी भएको अधिकृत लुईटेलले बताउनुभयो । लामो समयसम्म भारतले गरेको नाकाबन्दीका कारण देश बाहिर निर्यात हुन नसकेकाले अदुवा बजार पाउन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “जिल्लामा उत्पादन भएको ५० प्रतिशत र बिउमा ५० प्रतिशत बिक्रि हुने गरेकोमा यो वर्ष सबै अदुवा किसानहरुकै बारीमा रहेको   छ ।”

अदुवा बिक्रि नभएपछि किसानहरुले सुठो बनाउन थालेका छन् , सल्यानको अदुवा बढि मात्रामा भारत र नेपालकै मुख्य शहरमा जाने गर्दछ । गत वर्षको तुलनामा यो वर्ष अदुवाको उत्पादन घटेको छ । वर्षायाममा प्रयाप्त मात्रामा नपरेपछि अदुवाको उत्पादन घटेको कार्यालयले जनाएको छ ।

जिल्लामा १ हजार ९ सय ९५ हेक्टर क्षेत्रफल जमिनमा अदुवा खेती हुदै आइरहेको छ ।