Thaha

Sunday 22 September - 3:18 am NST

आइओसीले रक्सौलबाट आधा मात्रै तेल लोड गरिदिएपछि इन्धन अझै सहज हुन सकेन


काठमाडौं, ५ फागुन । भारतीय आयल निगमले साविक बमोजिम तेल दिन आनाकानी गरेपछि पेट्रोलियम पदार्थको बिक्री वितरण अझै सहज हुन सकेको छैन । रक्सौल डिपोले साविक भन्दा आधा मात्रै तेल लोड गरिदिए पछि समस्या भएको नेपाल आयल निगमले जनाएको छ । सामान्य अवस्थामा झण्डै २६ सय किलोलिटर पेट्रोलियम पदार्थ दिँदै आएको रक्सौल डिपोले अहिले दैनिक १४ सय किलोलिटर मात्रै तेल दिइरहेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिनुभयो । लोडिङ घटाएको बिषयमा भारतले ठोस कारण नदिएको र एक दुई दिनमा लोडिङ बढ्छ भन्ने आश्वासन मात्रै दिने गरेको घिमिरेको भनाई छ । यसअघि निगमले पेट्रोलियम पदार्थको बिक्री वितरण एक दुई दिन भित्रैमा सहज हुने बताएको थियो । निगमले काठमाडौं उपत्यकामा दैनिक सामान्य अवस्थाको भन्दा झण्डै दोब्बर परिमाणमा पेट्रोलियम पदार्थ पठाएको बताएपनि बिक्री सहज हुन सकेको छैन । उपत्यकामा सामान्य अवस्थामा दैनिक साढे ३ सय किलोलिटर पेट्रोलको माग भएपनि अहिले दैनिक ५ सय किलोलिटर पेट्रोल बजार पठाइरहेको निगमको दाबी छ । मोटरसाइकललाई ५ र ट्याक्सीलाई १५ लिटरका दरले कोटा तोकेर वितरण गर्दा पनि लाईन लागेका उपभोक्ता रित्तै फर्कन बाध्य भएका छन् । प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्रै ग्याँस र पेट्रोलियम पदार्थको आयात सहज हुने अनुमान आयल निगमका अधिकारीले गरेका छन् ।