Thaha

Sunday 22 September - 3:28 am NST

ऐतिहासिक सम्पदा र धरोहरणको आजदेखि पुर्ननिर्माण शुरु गरिने


काठमाडौं, ४ फागुन । भूकम्पबाट ध्वस्त राष्ट्रिय सम्पदा तथा ऐतिहासिक धरोहरको पुननिर्माण आजदेखि शुरु हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे काठमाडौंको  सुन्धारामा पहिले धरहरा भएको ठाउँबाट ‘ऐतिहासिक धरोहर पुननिर्माण राष्ट्रिय संकल्प’को उद्घोष गरेपछि पुर्ननिर्माणको काम औपचारिक रुपमा शुरु हुनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजकत्वमा ऐतिहासिक धरोहरको पुर्ननिर्माणको संकल्पसहितको कार्यक्रम हुन लागेको हो । ध्वस्त धरोहरको पुननिर्माणका लागि सरकार र दातृ निकाय मात्र नभई जनस्तरबाट समेत सहयोग आवश्यक रहेकाले सबैको साथ सहयोगका लागि संकल्प अभियान थालानी गर्न लागेको मन्त्रालयले जनाएको छ । गत बैशाख १२ र २९ गते गएको भूकम्पले देशभर गरी ७ सय २१ पुरातात्विक सम्पदामा क्षति पुगेको पुरातत्व विभागले जनाएको छ ।

जसमा १ सय ३३ वटा संरचना पूर्ण रुपमा ध्वस्त भएका छन् । उपत्यका भित्र मात्रै २ सय ४७ संरचना ध्वस्त भएका छन् । भूकम्पका कारण सम्पदाहरु ध्वस्त हुँदा १२ अर्ब रुपैया भन्दा बढि क्षति भएको छ ।