Thaha

Sunday 22 September - 3:26 am NST

सरकार र मधेसी मोर्चाबीचको वार्ता अन्यौलमा


काठमाडौं, ४ फागुन । सरकार र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता अन्यौलमा परेको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत जानु अघि नै सहमति गर्ने भन्दै अघिल्लो वार्ताबाट उठेका तीन दल र मधेसी मोर्चाबीच पछिल्लो समय संवाद नै हुन छोडेको छ । प्रधानमन्त्री ओलीको आहृवानमा गत शुुक्रबार बालुवाटारमा भएको वार्तामा कार्यदल स्तरमा गृहकार्य गर्ने र ३ गतेसम्ममा सहमति गर्ने समझदारी भएको थियो । तर, प्रधानमन्त्रीको भारत भ्रमण शुरु हुन तीन दिन मात्रै बाँकी रहँदा कार्यदलको बैठक समेत बस्न सकेको छैन । कार्यदलको बैठक बारे कुनै खबर नआएको कार्यदलका सदस्य एवं संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो । सरकारले आफूहरुसँगको सहमतिलाई प्राथमिकतामा नराखेको र चासो नदिएको श्रेष्ठको भनाई छ । प्रधानमन्त्री ओली यहि ७ गते भारत भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले अब प्रधानमन्त्री भारतबाट फर्किएपछि मात्रै मधेशी मोर्चासँग सहमति गरिने संकेत गर्नुभयो ।

भोलीसम्म कुनै प्रगति नभए प्रधानमन्त्रीको भारत भ्रमण पछि मात्रै मोर्चासँग सहमति हुने उहाँको भनाई छ । प्रमुख प्रतिपक्षी काँग्रेसको महाधिवशेनका कारण काँग्रेसका नेताले समय दिन नभ्याउँदा पनि छलफल प्रभावित भएको रिमालले बताउनुभयो । प्रमुख तीन दल र मधेसी मोर्चा राजनीतिक संयन्त्र बनाएर तीन महिनाभित्र सीमांकनबारे निर्णय गर्न सहमत भइसकेका छन् । तर, संयन्त्रको टीओआरमा भने सहमति हुन बाँकी छ ।