Thaha

Sunday 22 September - 5:07 am NST

पेट्रोलियम पदार्थको बिक्री वितरण तीन चार दिनमै सहज हुने निगमको दाबी


काठमाडौं, ३ फागुन । नेपाल आयल निगमले तीन चार दिनभित्रै काठमाडौं उपत्यकामा पेट्रोलियम पदार्थको विक्री वितरण  सहज हुने दाबी गरेको छ । वीरगञ्ज–रक्सौल नाकाबाट आयात बढेपछि बजारमा पठाउने पेट्रोलको परिमाण बढाइएको भन्दै निगमले केही दिनमै अवस्था सामान्य हुने र पम्पहरुमा लाइन लाग्न नपर्ने दाबी गरेको हो । विक्री वितरण सहज बनाउनकै लागि अहिले उपत्यकामा सामान्य अवस्थाको दैनिक माग भन्दा झण्डै दोब्बर परिमाणमा पेट्रोल बिक्री गरिरहेको निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताउनुभयो । सामान्य अवस्थामा उपत्यकामा दैनिक झण्डै साढे ३ लाख लिटर पेट्रोल खपत हुने गरेको छ । तर अहिले निगमले दैनिक झण्डै ६ लाखको हारहारीमा पेट्रोल बजारमा पठाइरहेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार आज पनि ५ लाख लिटर पेट्रोल विक्री वितरणका लागि पम्पहरुलाई उपलब्ध गराइएको छ । डिजेलको बिक्री वितरण पनि केही दिनमै सामान्य हुने निगमले जनाएको छ । ग्याँसको आपूर्ती सहज हुन भने कम्तीमा एक महिना लाग्ने भएको छ । देशभर दैनिक झण्डै ६० बुलेट ग्याँस खपत हुने गरेपनि अहिले ४० बुलेटको हारहारीमा मात्रै ग्याँस आयात भइरहेको छ । ग्याँसको आयात बढ्दै गएपछि उपभोक्तालाई पूरै सिलिण्डर ग्याँस वितरण गर्ने निगमको तयारी छ । यस बिषयमा एक दुई दिनमै निर्णय गरिने प्रवक्ता घिमिरेले जानकारी दिनुभयो । नाकाबन्दीका कारण अभाव भएपछि धेरै उपभोक्तालाई पु¥याउने उद्देश्यले निगमले अहिले आधा सिलिण्डर ग्याँस विक्री गर्दै आएको छ ।