Thaha

Sunday 22 September - 5:09 am NST

सबै पेट्रोल पम्पबाट डिजेल र पेट्रोल बितरण हुने


काठमाडौं, २९ माघ । नेपाल आयल निगमले आजदेखि सबै पेट्रोल पम्पबाट डिजेल र पेट्रोल बितरण हुने जनाएको छ । आयात बढेकाले डिजेल र पेट्रोल सबै पम्पबाट वितरण हुन लागेको निगमका प्रवक्ता मुकन्द घिमिरेले जानकारी दिनुभयो । आयात बढ्दै गएकोले अहिले नै जति भनेको त्यति नै दिन नसकेपनि सबै पम्पबाट दिने ब्यवस्था गर्न लागेको निगमले जनाएको छ । अहिले सबै पम्पबाट चार पांग्रे गाडीले १५ लिटर र मोटरसाइकलले ५ लिटरका दरले मात्र पेट्रोल भर्न पाउने र एक हप्तापछि भने परिमाण नतोकिने प्रवक्ता घिमिरेले बताउनुभयो । आजदेखि दैनिक साढे ३ लाख लिटर पेट्रोल र साढे ४ लाख लिटर डिजेल काठमाडौं उपत्यकाका पम्पमा वितरण हुनेछ । ग्याँस भने सहज अवस्थामा आउन अझै १ महिना लाग्ने घिमिरेले बताउनुभयो । भारतीय आयल कर्पोरेशन आइओसीले अबको एक हप्ता भित्र माग अनुसार ग्याँस दिने बताएकोले सहज रुपमा आयात भएमा एक महिना सम्ममा उपभोक्ताले सहज रुपमा ग्याँस पाउने निगमले जनाएको छ । अहिले आधा सिलिण्डर ग्याँस वितरण गरिरहेकोमा पुरा सिलिण्डर दिने तयारी पनि भएको छ । आइतबार यस विषयमा बैठक बसेर टुंगो लाग्ने निगमले जनाएको छ ।