Thaha

Sunday 22 September - 7:33 am NST

महतोले आन्दोलनलाई धोका दिएको समाजवादीको निष्कर्ष


काठमाडौं, २४ माघ । संघीय समाजवादी फोरम नेपाल, सद्भावना अध्यक्ष राजेन्द्र महतोले मधेश आन्दोलनलाई धोका दिएको निष्कर्षमा पुगेको छ । वीरगञ्ज नाका महतोकै कारणले खुलेको भन्दै संघीय समाजवादी फोरमले महतोलाई कारवाही गर्नुपर्ने प्रस्ताव मोर्चाको बैठकमा लैजाने तयारी गरेको स्रोतले जनाएको छ । ‘महतोबाट मधेश आन्दोलनमा गद्दारी भयो । महतोकै कारण वीरगञ्ज नाका खुल्यो ।’ संघीय समाजवादी फोरमको उच्च स्रोतले भन्यो–यसरी कसरी सँगै जान सकिन्छ ?’ संघीय समाजवादी फोरम मोर्चा नै किन चाहियो भन्ने निष्कर्षमा पुगेको र मोर्चा भंग गर्ने प्रस्तावसमेत लैजान सक्ने स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी ओलीका लागि महतोले काम गरिरहेको पनि संघीय समाजवादीको आरोप छ । वीरगञ्ज नाका महतोकै अगुवाईमा बन्द भैरहेको थियो र तीन दिन अघि महतोले अब वीरगञ्ज नाका बन्द गर्न नहुने बताएको अर्को दिनदेखि वीरगञ्ज नाकाको अवरोध हटेको छ । त्यसपछि महतोले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता र प्रधानमन्त्री केपी ओलीसँग फोन वार्ता गरिसक्नुभएको छ ।