Thaha

Sunday 22 September - 7:50 am NST

पाँच महिनादेखि बन्द बिरगन्ज–रक्सौल नाका खुल्यो


काठमाडौं, २२ माघ ।

पाँच महिनादेखि बन्द बिरगन्ज–रक्सौल नाका खुलेको छ ।

आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले मितेरी पुलको धर्नास्थल छोडेपछि नाका खुला भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मधेसी मोर्चाका धर्नाकारीले टाँगेको पाल स्थानीय र व्यवसायीले जलाइदिएका छन्। बाटो छेक्न राखिएको ढाट पनि हटाइएको छ । खुलेको नाकाबाट एउटा ट्रक भारत गएको प्रहरीले जनाएको छ ।

भन्सार अधिकारीहरुका अनुसार रक्सौलमा भन्सार पास भएका रोकिएका सवारी साधन छैनन् । मितेरी पुलमा रहेको अवरोध हटे पनि भारतीय भन्सारले जाँच पास गर्छ कि गर्दैन हेर्नुपर्ने र त्यसपछि मात्र नाकाबन्दी खुल्छ कि खुल्दैन भन्ने स्पष्ट हुनेछ । यसअघि अघिल्लो शुक्रबार पनि केही गाडि आएका थिए। साढे ५ महिनामा पहिलो पटक गाडि आएपनि लगतै मधेसी मोर्चाका कार्यकर्ताले अवरुद्ध पारेका थिए ।

मोर्चाका नेता रामनरेश रायले धर्ना छाड्ने र नाकाबन्दी खुलाउने निर्णय भइनसकेको थाहा सञ्चार नेटवर्कसँग बताउनुभयो। संविधानमा असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलका कार्यकर्ताले झन्डै ५ महिनादेखि सीमा नाकामा अवरोध पु¥याउँदै आएका थिए ।