Thaha

Monday 09 June - 6:27 am NST

काँग्रेसको महाधिवेशनका लागि प्रतिनिधि छनौट आजदेखि सुरु


काठमाडौं, २२ माघ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि प्रतिनिधि छनौट आजदेखि सुरु भएको छ । केही जिल्लाबाहेक देशैभर क्षेत्रीय अधिवेशन सुरुभएको महाधिवेशन निर्वाचन कार्यक्रमका प्रमुख अधिकृत राधेश्याम अधिकारीले जानकारी दिनुभयो । परिस्थिती अनुकुल नभएका केही जिल्लामा बाहेक सबै ठाउँमा क्षेत्रीय अधिवेशन भइरहेको उहाँले बताउनुभयो । अधिवेशनले हरेक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित ११ जना महाधिवेशन प्रतिनिधि चयन गर्नेछ । यही १५ गते देशभरका गाउँ र नगरपालिका इकाई कमिटीबाट चुनिएका प्रतिनिधि मतदाता रहने यस अप्रत्यक्ष निर्वाचनबाट समानुपातिक÷समावेशी सिद्धान्तका आधारमा दलित, महिला, आदिवासी–जनजाति र अल्पसंख्यक कोटामा पनि प्रतिनिधि चयन गर्नेछ । यसै आधारमा आगामी फागुन २० गते देखि काठमाडौंमा केन्द्रीय कार्यसमिति चयन हुनेछ । क्षेत्रबाट १२ जनाका दरले चुनिने २८ सय ८० जनाका अतिरिक्त विभिन्न भ्रातृ संस्था, विदेशस्थित जनसम्पर्क समिति, केन्द्रीय समितिका ८५ जना सदस्य तथा केन्द्रीय सभापतिले मनोनयन गर्ने ३० जनासहित तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिले आगामी महाधिवेशनमा मतदाताका रुपमा भाग लिनेछन् । यसैगरी अधिवेशनले हरेक क्षेत्रबाट पाँच जनाका दरले महासमिति सदस्यको पनि चयन गर्ने प्रमुख निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो । कांग्रेसको जिल्ला अधिवेशन भने यही २५ गते हुनेछ ।