Thaha

Sunday 22 September - 7:24 am NST

मोर्चाको बैठकमा महतोले वीरगञ्ज रक्सौल नाका खोल्ने प्रस्ताव लैजाने


काठमाडौं, २१ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोले एउटा नाका मात्रै बन्द गर्नुको कुनै औचित्य नरहेको भन्दै वीरगञ्ज–रक्सौल नाका खोल्नुपर्ने बताउनुभएको छ । थाहासंचार नेटवर्कसँग कुरा गर्दै महतोले मोर्चाको बैठकमा वीरगञ्ज रक्सौल नाका खोल्ने प्रस्ताव लैजाने बताउनुभयो । वीरगन्ज—रक्सौल नाका बन्द गर्नुको उद्देश्य सरकारलाई दबाब दिनु रहेपनि सरकारलाई कुनै असर नपरेको र जनतालाई सास्ती भएको महतोले बताउनुभयो । आफूलाई जिम्मा दिएको वीरगञ्ज नाका अहिलेसम्म बन्द गरेको तर अरु नाका बन्द नगरेको भन्दै महतोले सहयात्री दलप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो । जनताले पनि आन्दोलनको स्वरुप फेर्न सुझाव दिएकोले वीरगञ्ज रक्सौल नाका खोल्नुपर्नेमा महतोले जोड दिनुभयो । विहारका नेताहरुले मधेस आन्दोलनमा नैतिक समर्थन दिने र भारतका केन्द्रीय सरकारमार्फत नेपाल सरकारलाई मधेसी जनताको हकहितका लागि दबाब दिन लगाउने आश्वासन दिएको नेता महतोले बताउनुभयो ।

विहारका पूर्व मुख्यमन्त्री लालु यादवसँगको भेटका क्रममा भएको आफूहरुको बसाइँका विषयमा नकारात्मक टिप्पणी गर्नु आवश्यक नरहेको महतोको भनाई छ । महतोले भन्नुभयो–‘हामीलाई कुनै अपमान भएका छैन भने अरुलाई किन ? राष्ट्रिय जनता दलका अध्यक्ष एवं विहारका पूर्व मुख्यमन्त्री लालु यादवका अगाडि निरिह अवस्थामा मोर्चाका नेता बसेको तस्विर सार्वजनिक भएपछि त्यसले सिंगो नेपालीको अपमान भएको टिप्पणी भैरहेका बेला महतोले त्यस्तो केही नभएको बताउनुभयो ।