Thaha

Sunday 22 September - 9:16 am NST

भुकम्पले भत्काएको घर आफैले बनाउनुपर्ने


काठमाडौं, २० माघ । विनाशकारी भूकम्पबाट भत्किएका घर, पीडित नागरिक आफैंले बनाउनुपर्ने भएको छ ।  घरको पुनर्निर्माणका लागि आवश्यक पैसा र प्राविधिक सहयोग भने सरकारले उपलब्ध गराउनेछ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आज प्रधानमन्त्री र मन्त्रीसँगको छलफलमा व्यक्तिगत घरहरुको पुननिर्माण घरधनी आफैले गर्ने कार्यान्वयन अवधारणा र संस्थागत संरचना पेश गर्नुभएको छ । भूकम्पपीडितले घर बनाउने सरकारी अनुदान बैकिङ प्रणालीमार्फत लिनुपर्नेछ । पीडित नागरिकले चार किस्तामा घर पुननिर्माणका लागि अनुदान पाउनेछन् । सम्झौताका बखत २५ प्रतिशत, जग बनाउदा, झ्याल ढोका राख्दा र छाना छाएपछि २५ प्रतिशतका दरले रकम दिन प्राधिकरणले प्रस्ताव गरेको छ । घरहरुको पुनर्निर्माण तथा स्थानीय तहका पूर्वाधारहरुको पुनर्निर्माण र विकास स्थानीय सामुदायिक संस्थाहरुमार्फत गरिने, उपभोक्ता संस्थाको सीमा ६० लाखबाट २ करोड रुपैयाँ पु¥याइने प्राधिकरणको अवधारणा छ ।