Thaha

Friday 21 August - 7:33 am NST

वार्ताबाटै समाधान निस्कनेमा मोर्चा विश्वस्त


काठमाडौं, २० माघ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले वार्ताबाट नै समस्याको समाधान निस्कनेमा मधेसी मोर्चा विश्वस्त रहेको बताउनुभएको छ । मधेसी पत्रकार समाज पर्साले आज वीरगन्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ठाकुरले जहाँ गएर वार्ता रोकिएको थियो, त्यहीबाट अगाडि बढ्नुलाई सकारात्मक भन्नुभएको छ । प्रमुख दलहरुले सीमांकनबारे स्पष्ट धारणा ल्याएर सम्बोधन नगरेसम्म नाकाबन्दी जारी रहने उहाँको भनाइ छ । मधेसी मोर्चाका संयोजक समेत रहेका ठाकुरले भन्नुभयो, ‘सार्थक निश्कर्ष ननिस्केसम्म आन्दोलन रोक्ने कुरा आउदैन ।’ आन्दोलनको आगामी स्वरुपबारे पनि मोर्चाभित्र छलफल हुन बाँकी रहेको भन्दै अबको बैठकबाट नाकाबन्दी सम्बन्धमा निर्णयसँगैै नयाँ कार्यक्रम तय गरिने जानकारी दिनुभयो । उहाँले दशौं लाख बिहारीहरुलाई लिएर भारतीय नेताहरुले नेपालमा पदयात्रा गर्नुपर्ने आवश्यकता नभएको समेत बताउनुभयो । अध्यक्ष ठाकुरले नेपाली काँग्रेसको अधिवेशनमा अवरोध गर्ने मोर्चाको कुनै नीति नरहेको दाबी गर्दै संविधान घोषणा गर्न हस्ताक्षर गर्ने सांसदलाई जिल्ला प्रवेशमा रोक गरिएको स्पष्ट पार्नुभयो ।