Thaha

Sunday 22 September - 9:18 am NST

सञ्चार नीति पुनरावलोकनका लागि समिति गठन


काठमाडौं, २० माघ । सरकारले आमसञ्चार नीतिको मस्यौदा तयार पार्न काशीराज दाहालको संयोजकत्वमा समिति बनाएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार नीतिलाई पुनरावलोकनका लागि मस्यौदा तयार गर्न दाहालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्की र नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्ट सदस्य हुनुहुन्छ । समितिलाई तिन महिनाभित्र मस्यौदा बुझाउने जिम्मेवारी दिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो । सञ्चार मन्त्री राईका अनुसार समावेशी सिद्धान्तलाई आत्मसात गरेर अन्य सदस्यहरु पछि नियुक्त गरिनेछ । मन्त्रिपरिषद् बैठकले समितिमा रहने अन्य सदस्यहरुको नियुक्ति गर्ने जिम्मेवारी सूचना तथा सञ्चार मन्त्रालयलाई दिएको छ । 

मन्त्रीपरीषद वैठकले लोकसेवा आयोगको सिफारिसअनुसार महालेखा परीक्षकका सुवर्णप्रसाद ढकालसहित २२ जना निजामति कर्मचारीलाई सहसचिवमा बढुवा गरेको हो । सहसचिवमा बढुवा भएकामा रविशंकर सैंजू, दानध्वज बस्नेत, ज्ञानेन्द्र पौडेल, सञ्जयकुमार खनाल, केशवप्रसाद आचार्य, पुरुषोत्तम नेपाल, जानकी बल्लभ अधिकारी, जनकराज दाहाल, प्रदीप कुमार कोइराला, शिवप्रसाद अधिकारी, भागिरथ पाण्डे हुनुहुन्छ । त्यस्तै, गोकुलप्रसाद धिताल, शेरबहादुर ढुंगाना, रामबहादुर घिमिरे, दिलीपकुमार चापागार्इं, उत्तमप्रसाद नागिला, विष्णुप्रसाद पोखरेल, प्रेमप्रकाश उप्रेती, नरहरि बराल, विष्णुबहादुर थापा र ताराबहादुर कार्की हुनुहुन्छ । मन्त्रिपरिषद बैठकले महासेनानीहरु सञ्जयसिंह भण्डारी, पदमकुमार आङदम्बे र जितबहादुर गुरुङलाई सहायक रथीमा बढुवा गरेको छ । यस्तै ताराविक्रम शाह, राजेन्द्र कार्की, राजु बस्नेत लगायतका पाँचजना सहायक रथीलाई सरुवा गरिएको छ । मन्त्रिपरिषद बैठकले चीनको सिचुवान प्रान्तमा महावाणिज्यदूतावास स्थापनार्थ चीनको सहमति लिनका लागि अनुरोध गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको बैठकपछि सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।