Thaha

Sunday 22 September - 10:41 am NST

अख्तियार प्रमुख कार्कीलाई कारबाही गर्ने वाइसियलको चेतावनी


काठमण्डौं, १७ माघ । 
एकीकृत नेकपा माओवादीको युवा संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई कारबाही गर्ने चेतावनी दिएको छ । भ्रष्टाचार नियन्त्रण गर्ने निकाय अख्तियार प्रमुख कार्की रायमाझी आयोगको दोषी रहेको र अहिले पनि भ्रष्टहरुसँगको हिमचिम र सम्बन्ध कायम रहेको भन्दै वाईसीएलले कारबाहीको चेतावनी दिएको हो ।

आज कोटेश्वर पेरिसँडाडामा पत्रकार सम्मेलन गर्दै वाईसीएलले अख्तियार प्रमुखसहित अन्य आयुक्तहरुको सम्पत्ति तत्काल सार्वजनिक गर्न माग समेत गरेको छ । आयोगले पछिल्लो समय भ्रष्टाचार नियन्त्रणमा सामान्य देखावटी प्रचार गरेको र आयोगका उच्चपदस्थ कर्मचारीहरु मुख्यभ्रष्ट र तस्करहरुको संरक्षणमा लागेकाले आयोगको विश्वासनीयतामा प्रश्न उठेको वाईसीएल अध्यक्ष आरसी शर्माले बताउनुभयो ।

उहाँले आफु नेतृत्वको वाईसीएलले नै भ्रष्टाचारीहरुको प्रमाण संकलन गर्ने, सुचि तयार गर्ने र राज्यको सम्बन्धित निकायमा बुझाउने कामको अभियान छेड्ने दाबी गर्नुभयो । भारतीय नाकाबन्दीका कारण देशमा चरम कालाबजारी, भ्रष्टाचार तथा दण्डहिनता बढेको भन्दै त्यसको भण्डाफोर र कारबाही गर्ने निर्णय गरेको वाईसीएल अध्यक्ष शर्माले जानकारी दिनुभयो ।