Thaha

Sunday 22 September - 10:29 am NST

आयरल्याण्डमाथि नेपालको शानदार आठ विकेटको जित


काठमाण्डौ, माघ १६ । १९ वर्षमुनिको विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आयरल्याण्डलाई आठ विकेटले पराजित गरेको छ । नेपाल अब दोस्रो चरण प्रवेश गर्ने संघारमा पुगेको छ । अहिले भैरहेको खेलमा भारतले न्यूजिल्याण्डलाई हराएमा नेपाल भारतसँगै दोस्रो चरण पुगेर ऐतिहासिक उपलब्धि हासिल गर्नेछ । न्यूजिल्याण्ड विरुद्धको खेलमा भारतले पुरै पकड जमाएको छ ।  बंगलादेशमा आयरल्याण्डले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले २५ ओभर तीन बलमा पुरा ग¥यो । नेपालका लागि योगेन्द्र सिंह कार्कीले अर्धशतकीय योगदान गरे ।

८१ बलमा आठ चौकाको मद्दतमा  ६१ रन बनाएर उनी नटआउट रहे । त्यस्तै आरिफ शेखले पनि नटआउट ३१ रन बनाउँदा ३५ बलको सामना गरेर पाँच चौका हिर्र्काए । सुनील धमला २८ रन बनाएर पेवेलियन फर्किए । खराब शुरुवात गर्दै नेपालले सन्दीप सुनुवारलाई शुरुमै गुमाए पनि योगेन्द्र सिंह कार्की र सुनील धमलाले दोस्रो विकेटका लागि ५५ रन जोड भने कार्कीले आरिफसँग मिलेर तेस्रो विकेटका लागि ७७ रनको साझेदारी गरे । पहिले ब्याटिङ गरेको आयरल्याण्डले नौ विकेटको क्षतिमा मात्र १ सय ३१ रन जोड्यो । नेपालका संदीप लामिछानेले ह्याट्रिक सहित ५ विकेट लिए । चालु विश्वकपमा उनी ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २,सुशील कँडेल र सुनील धमलाले एक एक विकेट लिए । नेपालले पहिलो खेलमा टेस्ट मान्यता प्राप्त बलियो टोली न्युजील्याण्डलाई ३२ रनले हराएको थियो ।