Thaha

Sunday 22 September - 10:30 am NST

आयरल्याण्ड विरुद्ध नेपालको उत्कृष्ट प्रदर्शन, नेपाल सामु १ सय ३२ रनको चुनौती, संदीप लामिछानेको ह्याट्रिक


काठमण्डौं, १६ माघ । 
१९ वर्षमुनिको विश्वकप क्रिकेटको दोस्रो खेलमा आयरल्याण्ड विरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ । बंगलादेशको फल्तुल्लाहमा रहेको खान साहेब ओसमान अलि रंगशालामा नेपाल विरुद्ध व्याटिङ्ग थालेको आयरल्याण्ड नेपाली बलर सामु निरिह देखियो । ९ विकेटको क्षतिमा आयरल्याण्डले मात्र १ सय ३१ रन जोड्यो । उसका लागि हेरी ट्क्टरले सर्वाधिक ३० रन बनाए । नेपालका संदीप लामिछानेले ह्याट्रिक सहित ५ विकेट लिए । चालु विश्वकपमा उनी ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन । नेपालका लागि दिपेन्द्रसिंह ऐरीले २,सुशील कँडेल र सुनील धमलाले एक एक विकेट लिए । १ सय ३२ रनको विजयी लक्ष्य पच्छाउँदै नेपालले भर्खरै व्याटिङ्ग थालेको छ । नेपालका सन्दीप सुनार पहिलो बलमै पेभेलियन फर्के ।

 नेपालले यो समाचार तयार पर्दा सम्म ८ ओभर खेल्दा  १ विकेट गुमाएर २१ रन बनाएको छ । पहिलो खेलमा टेस्ट मान्यता प्राप्त बलियो टोली न्युजील्याण्डलाई ३२ रनले हराएको नेपाल आयरल्याण्डसँगको खेलमा उच्च मनोबलका साथ मैदान उत्रिएको छ । यसअघि मलेसियामा गएको अक्टोबरमा भएको आइसिसी १९ वर्षमुनिको विश्वकप छनौट प्रतियोगिताको राउन्ड रोबिन र फाइनल खेलमा नेपालले आयरल्यान्डलाई हराएको थियो । अस्ट्रेलिया सहभागी नहुने भएपछि अन्तिम समयमा आयरल्याण्ड प्रतियोगिताका लागि छनौट भएको हो ।

आजको खेल जिते नेपाल लगभग दोस्रो चरण प्रवेश गर्नेछ । आजको खेलमा नेपाल र भारतले आआफ्ना खेल जितेमा भने दुवै टोली एक खेल अगाडीनै अघिल्लो चरण प्रवेश गर्नेछन । समूह डी मा रहेको नेपाल २ अंकसहित अंक तालिकामा दोस्रो स्थानमा छ भने समान अंक भएपनि भारत पहिलो स्थानमा छ ।  यसैबीच समूह डिकै भारत र न्यूजिल्याण्डबीच पनि अहिले प्रतिस्पर्धा भैरहेको छ । आजनै श्रीलंका र अफगानस्तान तथा पाकिस्तान र क्यानडाबीच पनि प्रतिस्पर्धा भैरहेको छ ।