Thaha

Sunday 22 September - 10:25 am NST

काँग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन आजदेखि


काठमण्डौं, १५ माघ । 
नेपाली काँग्रेसको १३ औँ महाधिवेशनका लागि आज गाउँ, नगर वडा र नगर अधिवेशन हुँदैछ । देशभरका सबै गाविसमा, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाका वडाहरुमा एकैसाथ काँग्रेसको प्रारम्भिक तहको निर्वाचन हुने काँग्रेस केन्द्रीय कार्यालय सचिव प्रदीप पराजुलीले बताउनु भयो । तर हिमपातका कारण हिमाली जिल्लाका केही गाविसमा भने अधिवेशन दुई÷चार दिन पछाडि धकेलिन सक्ने काँग्रेसले जनाएको छ । अधिवेशनमा सबै गाविस र नगर वडाबाट एक लाख ४७ हजार क्षेत्रीय प्रतिनिधि तथा स्थानीय समितिका पदाधिकारी÷सदस्य निर्वाचित हुनेछन् ।

 अधिवेशनमा भाग लिन काँग्रेसका नेता कार्यकर्ता आफ्ना गाउँ÷नगर पुगेका छन् । पूर्वी तराईका केही जिल्लामा मधेसी मोर्चाबाट केही अवरोध हुने आशंका भए पनि अधिवेशनका कार्यक्रम तोकिएको मितिमा जुनसुकै हालतमा पनि सम्पन्न गर्न निर्वाचन समितिले निर्देशन दिएको छ । कुनै नगर वडा र नगर अधिवेशन एकै दिन गर्न असुविधा भए नगर अधिवेशन माघ १६ गते गर्न सकिने निर्वाचन तालिकामा उल्लेख छ । त्यस्तै क्षेत्रीय अधिवेशन माघ २२ गते र जिल्ला अधिवेशन माघ २५ गते सम्पन्न गर्नुपर्ने छ । केन्द्रीय महाधिवेशन भने फागुन २० गते काठमाडौँमा हुनेछ ।

१३ औँँ महाधिवेशनका लागि  क्रियाशील सदस्य संख्या चार लाख ७० हजार ६ सय ५५ कायम भएको छ । गाविसको अधिवेशनबाट गाउँ कार्य समिति र क्षेत्रीय प्रनितिधि चयन हुन्छन् भने नगरका वडा अधिवशेनबाट वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् । यसैबीच आगामी नेतृत्वको होडमा गाउँ तहबाटै संस्थापन र देउवा पक्षिय नेताहरुले तयारी थालेका छन ।