Thaha

Friday 26 April - 4:38 pm NST

भ्रष्टाचार रोक्ने प्रयास राजनीतिक क्षेत्रबाट सुरु हुनुपर्छ : विज्ञ

काठमाडौं, १४ माघ । नेपालमा रहेको व्याप्त भ्रष्टाचार नियन्त्रणको सुरुआत राजनीतिक क्षेत्रबाट हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । 
बिहीकार काठमाडौंमा रिपोटर्स क्लबले गरेको साक्षात्कारमा भ्रष्टाचार सम्बन्धमा जानकार, कानुनविद्, अर्थविद्धहरुले सो कुरामा जोड दिएका हुन् । ट्रान्सपरेन्सी ईन्टरनेसशनल नेपाल च्याप्टरका अध्यक्ष भरतबहादुर थापाले सर्वेक्षणहरुबाट भ्रष्टाचार नियन्त्रणमा राजनीतिक क्षेत्र बढी जिम्मेवार हुने भएकोले सुधारको थालनी पनि त्यहींबाट गर्नु पर्ने बताउनुभयो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सीमा सीमित भएको र भ्रष्टाचार नियन्त्रणमा सरकारी संयन्त्र उदासिन भएको आरोप समेत लगाउनुभयो । थापाले भ्रष्टाचार नियन्त्रणमा मुलुकको नीति, न्यायक्षेत्रको निष्पक्षता, सञ्चार क्षेत्रको पहुँचमा सार्वजनिक क्षेत्र आदि जस्ता ब्यवस्था हुनु पर्नेमा जोड दिनुभयो । 
नेपाल बार एसोसिएसनका उपाध्यक्ष टिकाराम भट्टराईले नेपालमा सरकार अस्थीर हुँदा भ्रष्टाचार बढेको तर्क गर्नुभयो । उहाँले न्यायपालिकामा रहेको भ्रष्टाचार नियन्त्रणमा संसद कमजोर बनेको दावी गर्नुभयो । उहाँले भ्रष्टाचार गर्ने न्यायधिसलाई महाअभियोग लगाउन संसद र अरुलाई कारबाही गर्न न्यायपरिषद कमजोर बनेको उल्लेख गर्नुभयो । 
अर्थविद्ध डा. विश्वम्भर प्याकुरेलले सामाजिक सुरक्षाको नाममा उठाएको १५ अर्ब सम्बन्धीत शिर्षकमा खर्च हुन नसक्नु, ३३ प्रतिशत विदेशी सहायता सरकारलाई थाहै नभई खर्च हुनु, सम्बन्धीत शिर्षकमा छुट्याएको रकम खर्च हुन नसक्नु जस्ता विषय पनि भ्रष्टाचार भएको दाबी गर्नुभयो । उहाँले अख्तियारलाई सार्वजनिक पद धारणा गरेकोलाई मात्रै दायरामा ल्याउने भएकोले नीजि क्षेत्रमा झनै बढी भ्रष्टाचार हुने गरेकोले दायरलाई फराकिलो बनाउनु पर्नेमा जोड दिनुभयो । 
पूर्व अर्थसचिव रामेश्वर खनालले भ्रष्टाचार समूदायसम्म फैलिदा ब्यापक रुपमा भएको भन्दै अख्तियारको क्षेत्र विस्तार र समाज सुधारमा लाग्नु पर्ने धारणा राखन्ुभयो । खनालले दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा कानूनी अधिकार प्रयाप्त भएकोले कानूनमा समस्या नरहेको तर्क गनुभयो । नयाँ शक्ति अभियानका केन्द्रीय परिषद्का सदस्य समेत रहेका खनालले राजनीतिक दलहरुले लिने चन्दा पारदर्शि बनाउने र भ्रष्टाचारीलाई फिर्ता बोलाउन सक्नुपर्ने बताउनुभयो ।