Thaha

Sunday 22 September - 10:30 am NST

सरकारले गाउँगाउँमा इन्जिनियर पठाउन थाल्यो


काठमण्डौं, १३ माघ । 
सरकारले भूकम्पबाट क्षति पुगेका संरचनाको सर्वेक्षण गर्न इञ्जिनियरहरुलाई गाउँ पठाउने काम सुरु गरेको छ । क्षतिको विवरण र स्थानीय नागरिकको बसोबासको स्थिति अध्ययन गर्न इञ्जिनियर गाउँ, जिल्ला पठाउन थालिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । विभागका निर्देशक एवं सूचना अधिकारी प्रमोदराज रेग्मीले इञ्जिनियर गाउँ–गाउँ खटिसकेको भन्दै एक/दुई दिनभित्र उनीहरुले काम सुरु गर्ने जानकारी दिनुभयो । एक जिल्लामा ५०/६० जनाको दरले खटिएका इञ्जिनियरले भूकम्पबाट क्षति भएको घरको विवरण संकलन, परिवारको बसोबासको स्थिति, सामाजिक, आर्थिक विवरण तयार गर्ने निर्देशक रेग्मीले बताउनुभयो । इञ्जिनियरलाई कम्तिमा ४० दिन र नभ्याएमा दुई महिनाभित्र सर्वेक्षणको काम सकाउन निर्देशन दिइएको छ ।

तथ्यांक जम्मा पार्न स्थानीय विकास मन्त्रालयअन्तर्गतको तथ्यांक विभाग र सहरी विकास मन्त्रालयले जिम्मा लिएको छ । इञ्जिनियरहरुले प्राविधिकरुपमा घरको क्षतिलाई ५ वटा समूहमा विभाजन गरिनेछ । दुई महिनाभित्र तथ्यांक संकलन गरेर, तथ्यांक प्रोसेसिङ गरेर पुनर्निर्माण प्राधिकरणलाई बुझाइने निर्देशक रेग्मीले बताउनुभयो । उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लामा भर्खरै इञ्जिनियर खटिएको भन्दै दोलखामा गत महिना नै खटिइसकेको निर्देशक रेग्मीको भनाई छ । पुननिर्माण प्राधिकरणले भूकम्पबाट ३१ जिल्लालाई प्रभावित पारेको भए पनि अहिले अतिप्रभावित १४ जिल्लालाई प्राथमिकतामा राखेर काम थालेको छ ।

माघ २ गतेदेखि औपचारिक रुपमा सुरु गरिएको पुननिर्माणको अभियान पहिलो चरणमा आउँदो २०७३ बैशाख १२ गतेसम्म जारी रहने पुननिर्माण प्राधिकरणले जनाएको छ । विनाशकारी भूकम्पको क्षतिको पुननिर्माण पाँच वर्षभित्र सकाउनुपर्ने प्राधिकरणलाई कार्यावधि छ ।