Thaha

Sunday 22 September - 11:22 am NST

पासाङ, चैतन्यसहित आठजना सालोपाबाट निस्कासित

 

Caption

काठमाडौं, १३ माघ । सामाजिक लोकतान्त्रिक पार्टी (सालोपा)ले नयाँ शक्ति अभियानमा लागेका पासाङ शेर्पा, चैतन्य सुब्बासहितका आठजना अध्यक्ष मण्डलका सदस्यहरुलाई निष्कासन गरेको छ । 
सामाजिक लोकतान्त्रिक पार्टीले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर शेर्पा, सुब्बासहित कमला हेमचुरी, दलमर्दन कामी, ज्योति दनुवार, विशन राई, मनप्रसाद सुनुवार र टिकाप्रसाद गौचनलाई निस्कासन गरेको जानकारी गराएको हो । पार्टीको मर्यादा र प्रतिष्ठामा आँच पुर्याउने गम्भिर काम गरेको भन्दै उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको लोकतान्त्रिक पार्टीले बताएको छ । 
अध्यक्ष मण्डलका सदस्य कुमार राईले आफ्नो पार्टी नयाँ शक्तिमा समाहित भएको भन्ने समाचारको खण्डन गर्दै केही ब्यक्तिहरुमात्र गएकोले आफ्नो उद्देश्यमा सामालिक लोकतान्त्रिक पार्टी विचलित नभई अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पत्रकार सम्मेलन भईरहँदा नयाँ शक्तिमा गएकाहरुका समर्थकले भने पार्टीको निर्णयअनुसार नै नेताहरुलाई नयाँ शक्तिमा गएको भन्दै निर्णय पुस्तिकाको फोटोकपी वितरण गरेका थिए । सो विषयलाई लिएर केही समय विवाद भएको थियो । पत्रकार सम्मेलनमा घुसपैठ गरेर भाँड्न खोजेको भन्दै पार्टीका निमा ग्याल्जेङ्ग शेर्पाले अरुको धारणा सार्वजनिक गर्न नदिने नीति लिने हो भने नयाँशक्ति पञ्चायतजस्तै निरकुंश पार्टी बन्ने आरोप लगाउनुभयो ।