Thaha

Sunday 22 September - 12:04 pm NST

रंगेली घटनामा दमन गरेको भन्दै सांसदहरुद्धारा सरकारको आलोचना, जिल्लास्तरमा भने समिती गठन


काठमण्डौं, ८ माघ ।
रंगेली घटनामा दमन गरेको भन्दै सांसदहरुले सरकारको आलोचना गर्दै घटनाको छानवीन गर्न माग गरेका छन् । आजको संसद बैठकमा शुन्य र बिशेष समयमा बोल्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन् । सांसद श्याम श्रेष्ठले वार्तालाई निश्कर्षमा पु¥याउनु भन्दा पनि दमनमा उत्रिएर सरकारले समस्यालाई झन बढाएको टिप्पणी गर्नुभयो । नेपाली काँग्रेसका सांसद महेन्द्र रायले सरकारले मधेशी मोर्चासँगको वार्तालाई गम्भीर रुपमा नलिइको भन्दै दमन गरेर समस्या समाधन नहुने बताउनुभयो । एमालेका सांसद यज्ञराज सुनुवारले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएपनि मधेशी मोर्चा अराजक बन्दै गएको आरोप लगाउनुभयो । एकीकृत माओवादीका सांसद रामनारायण बिडारीले भूकम्पपीडत चिसोले कठ्याङ्ग्रिरहेपनि सरकारले आफ्नो उपस्थिती देखाउन नसकेको भन्दै आलोचना गर्नुभयो । बैठकमा अहिले संविधान संसोधन विधेयकमाथि छलफल भइरहेको छ । संविधानमा असहमति राख्दै आएको मधेसी मोर्चामा आवद्ध दल र थरुहट तराई पार्टीले भने आजको बैठक पनि बहिष्कार गरेका छन ।

यसैबिच रंगेलीमा भएको घट्नाको छानबिन गर्न जिल्लास्तरमा समिती गठन भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा आज बिहान बसेको सर्बपक्षीय बैठकले रंगेली घटना छानविन गर्न समिति गठन गरेको हो । बैठकले एमाओवादी सांसद शिवकुमार मण्डलको संयोजकत्वमा १० सदस्यीय छानविन समिति गठन गरेको छ । मोरङ क्षेत्रनम्बर चार अन्तरगत रंगेलीमा घट्ना भएकाले मण्डलको संयोजकत्वमा समिती गठन भएको हो ।

छानविन समितिमा नेपाली कांग्रेसका मोरङ जिल्ला सचिव यदु विष्ट, नेकपा एमाले मोरङका जिल्ला अध्यक्ष महेश रेग्मी, नेपाल पत्रकार महासंघका मोरङ जिल्ला अध्यक्ष महेन्द्र विष्ट, अन्य दलका प्रतिनिधि, मानव अधिकारकर्मी, उद्योगी व्यवसायी लगायत छन् । समितिले आजैदेखि काम सुरु गरेको सांसद मण्डलले जानकारी दिनुभयो । प्रहरीसँगको झडपमा हिजो तीन जनाको मृत्यु भएको थियो । बैठकले आइन्दा यस्ता घटना दोहोरिन नदिने र संयमितरुपमा गतिविधि गर्ने निर्णय गरेको मण्डलले बताउनुभयो ।