Thaha

Sunday 22 September - 1:25 pm NST

सरकार असफल भए देश डरलाग्दो अवस्थामा जान्छ : प्रधानमन्त्री ओली

काठमाण्डौं, माघ ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार असफल भए देश डरलाग्दो अवस्थामा जाने दावी गर्नुभएको छ । बालुवाटारमा आज बिहान एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई असफल बनाउने कोशिस गरिएको भन्दै सरकार असफल भए मुलुक अफ्ठेरोमा पर्ने बताउनुभयो ।

भूकम्पपछिको अवस्था, नाकाबन्दी र तराईमा आन्दोलनका बाबजुद सरकारले मुलुकको प्रगति र समृद्धिका लागि केही प्रयास गरिरहेको प्रधानमन्त्रीले बताउनुभयो । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले नागरिकका बीचमा मुलुकको निर्णायक शक्तिका रुपमा एकीकृत भएर काम गर्न पार्टीका सांसदहरुलाई निर्देशन समेत दिनुभयो । देशलाई दूरगामी असर पर्ने र देशको एकता खण्डित हुने कुनै कुरामा जान नसकिने दोहोर्याउंदै उहाँले नेपाली सेना व्यावसायिक संस्था भएकाले यसको लोकतान्त्रीकरणको विषय उठाउनु सान्दर्भिक नभएको पनि बताउनुभयो ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नेपाललाई हिमाल, पहाड र तराई राष्ट्रका नाममा विभाजित गर्ने षड्यन्त्र भएको भन्दै चालू राजनीतिक वार्ताका क्रममा त्यसप्रति सचेत रहन सुझाव दिनुभयो । अर्का नेता माधवकुमार नेपालले संविधान संशोधनमा नेपाली काँग्रेसले संसदमा पेस गरेको संशोधनले नयाँ बखेडा उत्पन्न हुन सक्ने भन्दै त्यसबारे छलफल हुनुपर्ने बताउनुभयो ।

बैठकले पार्टी संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक भानुभक्त ढकालको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले माघ १० गतेभित्र दलका नेता ओलीलाई प्रस्ताव दिनुपर्नेछ । यस्तै पार्टी संसदीय बोर्ड गठनको नामावली तयार गर्न प्रमुख सचेतक र सचेतकलाई जिम्मा दिईएको छ । 

यसैवीच नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको आज १ सय दिन पुरा भएको छ । सरकारको सय दिनलाई हनिमून अवधि भन्दै यस अवधिमा उसका कमीकमजोरी नकोट्याउने भनिएपनि ओली नेतृत्वको सरकार भने नागरिकले दुख पाईरहंदा पनि मुकदर्शक भएको भन्दै आलोचित बन्दै आएको छ । प्रधानमन्त्री ओली पछिल्लो समय आफ्नै अभिव्यक्तिका कारण आलोचित बन्दै आउनुभएको छ ।

मधेस आन्दोलन, भारतीय नाकाबन्दीबाट नागरिकले खाद्यान्न, खाना पकाउने ग्यांस, पेट्रोलियम पदार्थको अभावसँगै बढ्दो कालोबजारी, भुकम्प पिडीतको दैनिकी दयनीय बनिरहेका बेला प्रधानमन्त्री ओली भने कामभन्दा भाषणमै केन्द्रीत भएको भन्दै उहाँकै पार्टीका नेताहरुले समेत आलोचना गरिरहेका छन् । तर नाकाबन्दी र आन्दोलन भने अघिल्लो सरकारकै पालामा शुरु भएको थियो ।

यस्तैगरी मन्त्रालय फुटाएर मन्त्रिमण्डल विस्तार गरेपछि पनि प्रधानमन्त्री ओलीले आलोचना खेप्नुपर्यो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार पूर्ण रुपमा असफल भएको भन्दै आलोचना गर्दै आएको छ । तर सरकारको १ सय दिन पुरा हुंदासम्म चीनबाट इन्धन ल्याउने समझदारीपत्रमा हस्ताक्षर, नेपाल र चीनवीच ८ बुंदे सहमती भएको छ । ओली प्रधानमन्त्री भएपछि मधेसी मोर्चासँग वार्ता गर्न उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाको नेतृत्वमा वार्ता टोली गठन भएको  थियो ।

यस्तैगरी संसदमा संविधान संशोधन विद्येयक पेश, सीमांकनवारे ५ बुंदे प्रस्ताव पास, पुननिर्माण प्राधिकरणको सीईओ नियुक्त, प्राधिकरणलाई पूर्णतासँगै पुननिर्माण महाअभियानको शुभारम्भ भईसकेको छ ।