Thaha

Sunday 22 September - 1:33 pm NST

कांग्रेसले आज क्रियाशिल सदस्यको नाम सार्वजनिक गर्ने


काठमण्डौं, ३ माघ । 
नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले आज क्रियाशिल सदस्यताको नाम सार्वजनिक गर्ने भएको छ । बेलुकीसम्म देशैभरका ४ लाख ७० हजार क्रियाशिल सदस्यको नाम वेभसाईटमा राख्ने तयारी भएको नेपाली काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले जानकारी दिनुभयो । आज प्रकाशित हुने अन्तिम सूचीका आधारमा अब महाधिवेशन हुने उहाँले जानकारी  दिनुभयो ।

त्यस्तै पार्टीमा देखिएको क्रियाशिल सदस्यताको विवाद पनि हिजोदेखि हटेकाले काँग्रेस नेता कार्यकर्ता अब महाधिवेशनमा केन्द्रीत भएका छन । निर्वाचन समितिले केहीदिनभित्र क्रियाशील सदस्यताको विवरण गाउँ गाउँ पठाउने जनाएको छ । विवाद समाधान भएसंगै काँग्रेस कार्यालयमा लामो समयदेखि भैरहेका अनशन पनि अन्त्य भएका पराजुलीले बताउनु भयो । काँग्रेसको १३ औं महाधिवेशन आउँदो फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा हुने भएको छ । त्यसअघि माघ १५ गतेसम्म गाउँ, नगर वडा र नगर अधिवेशन हुनेछन । माघ २२ गते क्षेत्रीय अधिवेशन र २५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय भएको छ ।