पुनर्निर्माणमा सहयोग गर्न दाताहरुलाई फेरि सरकारको आग्रह
काठमाडौं ३० पुस । सरकारले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न फेरि अन्तर्राष्ट्रिय समूदायलाई आग्रह गरेको छ ।
बालुवाटारमा कुटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रतिनिधिलाई बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण महाअभियान माघ २ गतेदेखि सुरु हुने जानकारी गराउँदै सहयोग गर्न आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले माघ २ गतेदेखि रानीपोखरी र बुङमतीबाट पुनर्निर्माण महाअभियान सुरु गर्न लागेको जानकारी गराएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले भूकम्प प्रभावित जिल्लामा तत्कालका लागि अत्यावश्यक सामग्री पु¥याइने र भौतिक संरचनाहरु निर्माणको काम सुरु गर्ने बताउनुभयो ।
भूकम्पलगत्तै नेपाल सरकारले गरेको अन्तर्राष्ट्रिय दाता सम्मेलनमा सहभागी भइ सहयोगको प्रतिबद्धता जनाउनेहरु सबैलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिनुभयो । नेपालको विकासका लागि फेरि पनि अन्तर्राष्ट्रिय समुदायको सहयोग आवश्यक परेको भन्दै प्रधानमन्त्रीले थप सहयोग पाउने अपेक्षा नेपाल सरकारले गरेको बताउुभयो । संविधान जारी भएपछि असन्तुष्ट पक्षले आन्दोलन जारी राख्दा देश अशान्त भएको, सोही अशान्तिका कारण सीमामा अवरोध भएपछि इन्धन आपूर्तिमा समस्या भएको र यसले पुनर्निर्माणको कामसमेत ढिलाइ भएको ओलीले बताउनुभयो । तर, अब असन्तुष्ट दलहरुसँग छलफल गरी समस्या समाधानको नजिक पुगेको भन्दै ओलीले अब पुनर्निर्माणको कामले पनि गति लिने विश्वास व्यक्त गर्नुभयो ।
पुनर्निर्माणका लागि सरकारले पाँच दातृनिकायबाट ८५ अर्ब ५७ करोड अहिलेसम्म सम्झौता गरेको छ । बालुवाटारमा नेपालस्थित सबै कुटनीतिक नियोगका प्रतिनिधि सहभागी थिए ।