Thaha

Sunday 22 September - 3:02 pm NST

सक्रिय हुन सक्ने पूर्व राजा ज्ञानेन्द्र शाहको संकेत


काठमण्डौं, २६ पुस । 
पूर्वराजा ज्ञानेन्द्र शाहले आफूले दरबार छोडेपनि नेपाली घरबार अनि नेपाल र नेपालीको आधार परित्याग नगरेको बताउनुभएको छ । २ सय ९४ औं पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा आज विज्ञप्ति निकाल्दै पूर्वराजा शाहले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित, राष्ट्रवासीको सुख, सम्मृद्धि र आत्मिय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सुम्पेर मात्रै दरबार छोडेको उल्लेख गर्नुभएको छ । चेतावनीयुक्त भाषा र सक्रिय हुन सक्ने आशय सहित शाहले भन्नुभएको‘ तर, सबैले विचार गर्नुपर्ने कुरा यो होकी मैले नेपाली घरबार छोडेको छैन अनि नेपाल र नेपालीको आधारको भार परित्याग गरेको छैन ।’ अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व भूमिका र भरोसा चाहेका छन् खुलस्त हुनुपर्ने समयको माग रहेको पूर्वराजा शाहको धारणा छ ।

पूर्व राजा शाहले हिमाल पहाड, तराई हामी सबै यही फूलबारीमा जति बढी समाति हुन सक्छौं उती नै नेपालीको गौरबशाली अस्तित्व तथा स्वाभिमानको नेपालीत्व उचो रहने उल्लेख गर्नुभएको छ । तर, यस प्रकारको युग चेतना हुँदा हुँदै पनि अहिले नेपाल किन दिग्भ्रमित भएको भन्दै पूर्वराजा शाहले प्रश्न गर्नुभएको छ ।  अहिले मुलुकभित्र विधि व्यवस्था, भूरचना र प्रशासनका कुरालाई लिएर देखिएका बखेडा राम्रो नभएको उहाँको भनाई छ । नेपाली जनताले अहिले साँझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौं पर्नु गम्भिर चिन्ताको विषय उहाँको भनाई छ ।

आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा देखिएको आर्थिक संकट, चरम महंगी, अभाव, अनुत्पादक र वाह्य निर्भरताबाट थप मार परेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । यसअघि पूर्व राजा शाहले विगतमा आफूसँग तत्कालीन सातदलले गरेको सहमति कायान्वयन गर्न आग्रह गर्नुभएको थियो ।