Thaha

Sunday 22 September - 3:15 pm NST

मधेसी मोर्चाको भाटा प्रदर्शनसहितका कार्यक्रम घोषणा

Caption

 काठमाडौं (पुस २५) । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । 
सरकारसँगको वार्ता परिणामुखी बनाउन दबाब दिने उद्देश्यले विरोधसभा, लाठी प्रदर्शनलगायतका कार्यक्रम सार्वजनिक गरेको हो । तराई मधेस लोकतान्त्रिक पार्टी कार्यलय बिजुलीबजारमा तीन दिन बसेको मोर्चाको बैठकले सरकारसँगको वार्ता र सीमा नाकाको अवरोध जारी राख्ने गरी थप आन्दोलनका कार्यक्रम घोषणा गरेको नेता गोविन्द चौधरीले जानकारी दिनुभयो । नेपाली कांग्रेस र सरकारले संयुक्तरुपमा ल्याएको संविधान संशोधनसम्बन्धी विधेयकले विगतमा प्रयोग भइसकेको समानुपातिक समावेशीकरणको मान्यतालाई बिकृत बनाई एकात्मक राज्यको चरित्रलाई नै निरन्तरता दिने षड्यन्त्र गरेको मोर्चाले आरोप लगाएको छ । विधेयकलाई परिमार्जन गर्न माग पनि मोर्चाले गरेको छ ।
मोर्चाले शनिबार विज्ञप्ति निकालेर पुस २८ देखि माघ सात गतेसम्मको कार्यक्रम सार्वजनिक गरेको छ । पुस २८ गते प्रत्येक जिल्ला सदरमुकाममा जुलूस प्रदर्शन एवं विरोधसभा गर्ने, ३० गते जिल्ला सदरमुकाम तथा प्रमुख शहरहरुमा आन्दोलनका क्रममा भएका गतिविधिको फोटो, चित्र तथा वृत्तचित्र प्रर्दशन गरिनेछ । त्यस्तै, माघ २ गते जिल्लाहरुमा लाठी जुलूस प्रदर्शन, ४ गते मशाल जुलूस एवं सभा गर्नेछ ।
माघ ५ गते बलिदानी दिवस मनाउने र ७ गते गाउँ÷नगर÷क्षेत्रहरुमा विरोधसभा गर्ने मोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।