Thaha

Sunday 22 September - 5:11 pm NST

मधेसी मोर्चा र प्रमुख तीन दल भोलिसम्ममा एउटा टुंगोमा पुग्ने प्रचण्डको भनाई


काठमण्डौं, १८ पुस । 
एकिकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि सम्ममा ३ दल र मधेसी मोर्चा एउटा टुङ्गोमा पुग्ने बताउनु भएको छ । पार्टीको १ नं. प्रदेश समितिको बैठकमा सहभागि हुन आज बिहान बिराटनगर पुग्नुभएका अध्यक्ष प्रचण्डले भोलि सम्म सकरात्मक परिणाम आउने बताउनु भएको हो । उहाँले भन्नुभयो, आज एमाले र मधेसी मोर्चाको छलफल हुन्छ, भोली व्यवस्थापिका–संसदको बैठक अघि एउटा टुंगोमा पुगिन्छ ।’उहाँले संशोधन प्रस्तावमा एमाओवादी, एमाले र काँग्रेसबीच समझदारी बन्दै गएको बताउनु भयो ।

मधेशी मोर्चा र आफ्नो पार्टीबीचमा छलफल चलिरहेको भन्दैै संवाद र सहमति कायम गर्न आफू निरन्तर लागिरहेको उहाँको भनाई थियो । पार्टीको १ नं. प्रदेश समितिको बैठकमा सहभागि हुन अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायाणकाजि श्रेष्ठ सहितका नेताहरु सुनसरीको इटहरी पुग्नु भएको हो । पार्टी संगठन रुपान्तरण र पुर्नगठनको अभियान अन्तरगत अहिले इटहरीमा प्रदेश नम्बर १ को बैठक बसिरहेको छ ।  यसअघिको राज्य समिती भंग गर्दै नयाँ संविधानले गरेको ७ प्रदेशसहितको ब्यवस्था अनुसार एमाओवादीले ७ वटा प्रदेश समिती बनाएको छ । 

यसअघि हिजो एकीकृत नेकपा माओवादी सम्पादक मण्डलको आयोजनामा काठमाडौंको अनामनगरमा अन्तक्र्रिया भएको थियो । एमाओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा भएको अन्तक्र्रियामा देशका वाम बुद्धिजीविहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले पूँजीवादी जनवादी क्रान्ति आधारभूतरुपमा पुरा भएको र समाजवादी क्रान्तिको आवश्यकतासँग जोडेर विश्व क्रान्ति र नेपाली क्रान्तिको रणनीतिबारे नयाँ विचारको अन्वेषण निम्ति अध्ययन अनुसन्धान जरुरी रहेको बताउनु भयो ।उहाँले भन्नुभयो, ‘माक्र्सवाद माथि भईहरेका प्रहार विरुद्ध नेपाली वाम बुद्धिजीविहरुबाट प्रतिवाद भईरहेको छ ।’ नेपालमा मात्रै नभएर विश्वमै माक्सवादप्रति चासो बढ्दै गएको उहाँको धारणा थियो । ‘कम्युनिष्ट आन्दोलन राष्ट्रिय आन्दोलन मात्र नभएर अन्तराष्ट्रिय आन्दोलन हो, हामी यतिबेला नयाँ फड्कोको तयारीमा छौं, राष्ट्र र वर्गप्रतिको निष्ठाले मानिसलाई नयाँ उचाईमा लैजान सक्छ,  माक्र्सवादको चुरो कुरो दुनियाँ बदल्नु हो । हामी दुनियाँ बदल्ने प्रयासमा छौं, बुद्धिजीविहरुले आत्मविश्वास गुमाउनु हुँदैन बरु दुनियाँ बदल्ने काममा आफ्नो बौद्धिक शक्ति लगाउनु पर्छ,’ उहाँले भन्नुभयो ।

अन्तक्र्रियामा हरि रोका, श्याम श्रेष्ठ, हरिगोविन्द लुइँटेल, सोमत घिमिरे, राजेन्द्र महर्जन, सुरेश ढकाल लगायतका बाम बुद्धिजीविहरुको सहभागिता थियो । कार्यक्रममा एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशसहित पार्टीको सम्पादक मण्डलका सदस्यहरु गोपाल किराती, दीनानाथ शर्मा, आहुति र उर्मिला अर्यालको सहभागिता रहेको थियो ।