Thaha

Sunday 22 September - 6:57 pm NST

कांग्रेस, मोर्चा र ए माओवादीवीचको छलफल निष्कर्षहीन

काठमाण्डौं, पुस ११ । मधेशी मोर्चालाई सहमतिमा ल्याउने मुख्य दलहरुको प्रयास असफल भएको छ । भोलि संविधान संसोधन विधेयकमाथि छलफल सुरु हुनअघि मोर्चालाई सहमतिमा ल्याउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ एकीकृत माओवादीले गरेको प्रयास असफल भएको हो ।

कांग्रेस सभापति सुशील कोईराला निवास महाराजगंज काठमाण्डौंमा आज झण्डै ३ घण्टा भएको कांग्रेस, एकीकृत माओवादी र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीचको वार्ता विना निष्कर्ष सकिएको छ । मोर्चाको माग सम्बोधन गर्ने विषयमा विहान नेपाली कांग्रेस र एकीकृत माओवादीबीच छलफल भएको थियो । एकीकृत माओवादीसँगको छलफलपछि कांग्रेसले मधेशी मोर्चासँग दिउँसो ३ बजेपछि छुट्टै वार्ता  गरेको थियो । कांग्रेस र मधेशी मोर्चासँगको वार्ता लगत्तै एकीकृत माओवादीका नेताहरु पनि कांग्रेस सभापति सुशील कोईराला निवास पुगेको थिए । तर, झण्डै ३ घण्टा संयुक्त छलफल भएपनि कुनै निष्कर्ष निष्कन सकेन ।

कांग्रेस र एकीकृत माओवादीले संविधान संसोधन विधेयकका भाषामा केही मिलाएर सिमाङकनपछि टुंग्याउनुपर्ने प्रस्ताव राखेका थिए भने मोर्चाले प्याकेजमै सहमति गर्नुपर्ने अडान राखेपछि वार्ता विना निष्कर्ष सकिएको नेताहरुले बताएका छन् ।