Thaha

Sunday 22 September - 7:13 pm NST

सीमाङकन कुनैपनि हालतमा परिवर्तन हुन्न : देउवा

काठमाण्डौं, पुस ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता शेर बहादुर देउवाले सात प्रदेशको सीमाङ्कन कुनै पनि हालतमा परिवर्तन नहुने बताउनुभएको छ ।  प्रेस युनियन कञ्चनपुरले आज महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा नेता देउवाले अखण्ड सुदुरपश्चिमबारे कुनै सम्झौता नगर्ने बताउनुभयो ।

सुदुरपश्चिमका ९ जिल्लालाई कुनै पनि हालतमा अलग नगर्ने तर कैलाली कञ्चनपुरमा रहेका थारु समुदायलाई विशेष अधिकार दिन सकिने बताउनु भयो । दलहरुले सीमाङ्कन मिलाउन तयार रहेको बताईरहेका बेला देउवाले कैलाली र कञ्चनपुर कुनै पनि हालतमा अलग हुन नदिने प्रतिक्रिया दिनुभएको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सुनसरीमा पुगेर झापा, मोरङ र सुनसरीलाई टुक्रिन नदिने बताउनुभएको थियो । आन्दोलनकारी दल र सत्तापक्ष बीच यी पाँच वटा जिल्लाको विषयलाई लिएर समेत चर्को विवाद छ ।