Thaha

Sunday 22 September - 7:13 pm NST

प्रहरी र मोर्चाका कार्यकर्तावीच झडप

काठमाण्डौं, पुस ११ । प्रहरी र आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्तावीच झडप हुंदा मोरङको विराटनगर रानी भन्सार नाका आज दिउँसो केहीवेर तनावग्रस्त बनेको छ । मोर्चाका नेता एवँ सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका नेतृत्वमा भारतीय भूमिबाट आएका मधेसी मोर्चाका कार्यकर्ताहरु नाकामा धर्ना बस्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरीले नाकामा धर्ना बस्न लागेका सद्भावना पार्टीका अध्यक्ष  महतोलाई नियन्त्रणमा लिन खोज्दा प्रदर्शनकारीसँग झडप भएको हो । प्रहरीसँगको झडपपछि भारततिर भाग्नेक्रममा अध्यक्ष महतो घाईते हुनुभएको छ । उहाँको टाउको र घुंडामा चोट लागेको छ । महतोसहित मोर्चाका कार्यकर्ताहरु भारतीय भूमितर्फ गएपछि भारतीय सिमा सुरक्षा बल एसएसवीले समेत हस्तक्षेप गरेको र त्यसैक्रममा महतो घाईते भएको हुनसक्ने प्रहरीको भनाई छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रमोद कुमार खरेलका अनुसार भारतमा एउटा कार्यक्रममा भाग लिएर फर्कने क्रममा दिउँसो साढे ४ बजेतिर महतो नाकामा मोर्चाका कार्यकर्ताहरुसँग धर्नामा बस्न लाग्नुभएको थियो । प्रहरीले महतोलाई धर्नामा बस्न नदिई पक्राउ गर्न लाग्दा प्रदर्शनकारीहरुले भारतीय भुमिमा गएर प्रहरीमाथि ढुँगामुढा गरेपछि स्थिती तनावग्रस्त भएको र प्रहरीले एक राउन्ड अश्रुग्यांस प्रहार गरेको जनाएको छ । प्रहरीले ढुँगा हान्ने ५ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

मोर्चाका कार्यकर्ताले दैनिक एकदुई घण्टा रानी—जोगवनी नाकामा धर्ना दिंदै आएका छन् । मोर्चाको अवरोधकावीच हिजो २६ वटा ईन्धनका गाडी भित्रीएको थियो । आज भने नाकामा भएको तनाव अघिसम्म ईन्धनबाहेकका १ सय २५ वटा गाडी आएको रानी भन्सारका प्रमुख कृण्ण बहादुर वस्नेतले जानकारी दिनुभयो ।