Thaha

Sunday 22 September - 7:10 pm NST

राष्ट्रपतिमाथि भएको दुव्र्यवहारको घटना अनुसन्धान गर्न सरकारी टोली जनकपुरमा

काठमाण्डौ, पुस १० । राष्ट्रपति विद्यादेवी भण्डारीमाथि भएको दुव्र्यवहारबारे स्थलगत अनुसन्धान गर्न जनकपुर पुगेको सरकारी टोलीले सरोकारवालाहरुसँग छलफल गरिरहेको  छ । आज दिनभर मधेसी मोर्चा लगायत राजनीतिक दलका स्थानीय नेताहरुसँग टोलीले छलफल गरेको छ ।

छलफलका क्रममा मोर्चाका जिल्ला नेताहरुले घटनाप्रति आफूहरु पनि दुखित भएको भन्दै जनकपुर घटनाले बाहिर राम्रो सन्देश नगएको बताएको सरकारी टोलीको नेतृत्व गर्नुभएका गृहमन्त्रालयका सहसचिव विनोद केसीले जानकारी दिनुभयो । उहाँका अनुसार सरकारी अनुसन्धान टोलीले स्थानीयवासी, घटनास्थलमा सुरक्षार्थ खटिएका प्रहरी, प्रत्यक्षदर्शी लगायत घटनासँग सम्बन्धि सबैपक्षलाई भेटेर सोधपुछ गर्नेछ ।  

पुष १ गते विवाह पञ्चमीका दिन जानकी मन्दिर दर्शन गर्न पुगेकी राष्ट्रपति भण्डारीमाथि मधेसी मोर्चाका कार्यकर्ताले आक्रमणको प्रयास गरेका थिए । उनीहरुले विधवाले मन्दिर प्रवेश गरेर अपवित्र बनाएको भन्दै मन्दिर पखालेर शुद्धीकरण गर्दै राष्ट्रपति भण्डारीको अपमान गरेका थिए । त्यही घटनाको अनुसन्धान गर्न सरकारले गृह मन्त्रालयका सह—सचिव केसीको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको थियो । मधेशी मोर्चा र स्थानीयबासिन्दाले सुरक्षाकर्मी जुत्ता सहित मन्दिरमा प्रवेश गरेको र कुकुर समेत भित्र लगेर गएकोले अपमान भएको बताउँदै आएका छन् ।

एक साताको समय पाएको समितिले पेश गरेको प्रतिवेदनका आधारमा दोषीलाई कारवाहीका लागि सिफारिस गरिने गृहका प्रवक्ता लक्ष्मी ढकालले जानकारी दिनुभयो ।