Thaha

Sunday 22 September - 7:19 pm NST

मन्त्रीपरिषद विस्तार, ४ मन्त्री थपिए


काठमण्डौं, ९ पुस । 
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । साना दललाई समेत भाग पुरयाउन दुईवटा मन्त्रालय फुटाएर प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । मन्त्री थप्नुअघि आज बसेको मन्त्रिपरिषद् बैठकले दुईवटा मन्त्रालय थप गर्ने निर्णय गरेको थियो । जसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जनसंख्या र विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयबाट वातावरण निकाली जनसंख्या तथा वातावरण मन्त्रालय बनाईएको छ । त्यस्तै सहकारी विकास मन्त्रालय टुक्राएर खानेपानी तथा सरसफाई मन्त्रालय बनाईएको छ । राप्रपाका दिपक बोहोरा, राष्ट्रिय जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा, परिवार दलका एकनाथ ढकाल र समाजवादी पार्टीका प्रेमबहादुर सिंह मन्त्री बनेका छन् ।

थपिएका चारैजना नयाँ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । बोहोरालाई श्रम तथा रोजगार मन्त्रालय, थापालाई विज्ञान तथा प्रविधि, प्रेमबहादुर सिंहलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिईएको छ । ढकाल भने विनाविभागीय मन्त्री बन्नुभएको छ ।