Thaha

Sunday 22 September - 7:02 pm NST

गृहजिल्ला रोल्पामा उपराष्ट्रपति पुनले भने, ‘अबको आवश्यकता आर्थिक विकास हो’


रोल्पा, ९ पुस । 
 
उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको मुख्य आवश्यकता आर्थिक बिकास र समृद्धि भएको बताउनु भएको छ । उपराष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला पुग्नु भएका पुनले रोल्पा जिल्लाको समग्र विकासको लागि बाटोघाटो, सञ्चार, पुल, सिंचाई, उन्नत आधुनिक कृषि प्रणालीको विकासमा जोड दिनुपर्ने बताउनुभयो । जसका लागि उहाँले आवश्यक योजना र बजेट व्यवस्था गरि विकासको ढोका खोल्न सरकार तथा सरोकारवालाको ध्यानाकर्षण गराउनुभयो ।

रोल्पालाई खुलादिशामुक्त एवं साक्षर जिल्ला घोषणा समारोहमा बोल्दै पुनले विभिन्न चरणका परिवर्तनकारी आन्दोलन एवम् जनयुद्धले रोल्पाली नागरिकको राजनीतिक चेतना धेरै माथि उठाए पनि आर्थिक जीवनमा अपेक्षित परिवर्तन आउन नसकेको बताउनुभयो । रोल्पाली जनताकोे बलिदानले नेपालको परिवर्तनका लागि ठूलो भुमिका खलेको स्मरण गराउँदै उपराष्ट्रपति पुनले यसमा सबैले गर्व गर्नुपर्ने बताउनुभयो ।